सीके राउतले रेशम चौधरीलाई जेलमुक्त गर्ने - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

सीके राउतले रेशम चौधरीलाई जेलमुक्त गर्ने



काठमाडौं । डा. सीके राउतले टीकापुर प्रकरणमा दोषी सावित भई जेल चलान भएका रेशम चौधरीलाई जनमत पार्टीले रिहा गर्ने बताएका छन् । बुधबार जनकपुरमा आयोजित कार्यक्रममा उनले भने, “रेशम चौधरीलाई न्याय कसैले दिलाउन सक्छ भने त्यो जनमत पार्टीले नै सक्छ, तर पहिला थारू समुदायको समर्थन आवश्यक छ ।”

उनले राष्ट्रिय जनता पार्टी नेपालले सरकारमा जान मात्रै चौधरीको मुद्दा उचालेको पनि आरोप लगाए । “भ्रममा नबसे हुन्छ कि अरू पार्टीले रेशम चौधरीलाई जेलबाट निकाल्छ, सरकारमा जान मात्रै तिनीहरूले रेशम चौधरीको मुद्दा उचालेका हुन् ।”

मधेसवादी दलले संजय साहलाई जेलमा राखेर पाखा लगाएको उनको आरोप थियो । उनले भने, “जेल गएर हेर्नुस्, ती पार्टीका लागि जे पनि गर्ने तयार भएका अझै सयकडौं समर्थकहरू जेलमा कोचिएर बसेका छन्, ती पार्टीका कुनै नेताले त्यसको खबर समेत लिँदैनन् ।”

गत फागुन २४ गते सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा अवतरण गरेका राउत पछिल्लो समय मधेसका पुरातन शक्तिप्रति कटु आलोचना गर्दै आएका छन् ।

मुद्दा फिर्ताको पहल थाल्यो

आजै (बुधबार) जनमत पार्टीले मुद्दा फिर्ताको सूची बुझाएको छ । सम्झौता कार्यान्वयन समितिका संयोजक चन्दन सिंहले गृहसचिव प्रेमकुमार राईलाई भेटी मुद्दा फिर्ताको सूची बुझाएका हुन् ।

फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकार बीचको सम्झौता अनुसार गठबन्धनका नेता कार्यकर्ताहरूमाथि लागेको राज्यविरुद्धको अपराधसहितका सबै मुद्दाहरू फिर्ता लिने सहमतिअनुरूप पहल थालिएको सिंहको भनाइ छ ।