प्रचण्डले भने : सिके राउतलाई अझै समय दिनुपर्छ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रचण्डले भने : सिके राउतलाई अझै समय दिनुपर्छ



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सिके राउतलाई आफ्ना कार्यकर्ता सम्झाउने समय दिनुपर्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले भर्खरै जेलबाट छुटेको व्यक्तिलाई कार्यकर्ता सम्झाउन र उनीहरुलाई मुलधारमा ल्याउन समय दिनुपर्ने बताएका हुन् ।

“विगतमा सिके राउतले लिएको नीति हामी सबैलाई जानकारी छ,” दाहालले भने, “उनी मुलधारमा आइसकेका छन्, कार्यकर्ता सम्झाउन समय लागिहाल्छ, हतारमा परिणाम खोज्नु हुँदैन ।”

फरक विषयमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले संघले प्रदेशलाई अधिकार दिने नभएर संविधानले नै प्रदेशको अधिकार सुनिश्चित गरिसकेको बताएका छन् ।

दाहालले सरकारको बचाउ गर्दै पहिलो वर्ष कानून निर्माणमा ध्यान दिनुपर्ने भएकोले सरकारले अपेक्षाकृत सफलता हासिल गर्न नसकेको बताए । उनले भने– “कानून निर्माण र योजनाका काम भइसकेका छन्, अब सरकारले गति लिन्छ ।”