सीके राउतलाई सांसद र मन्त्री बनाउन ओली तयार
सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेर गठबन्धनका संयोजक सीके राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ।
लामो समयदेखि अलग्गै स्वतन्त्र मधेश अजेण्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको श्रोतले दाबी गरेको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा मुलुक विखण्डनको अजेण्डा छाडेर मूलधारको राजनीतिमा आएका राउतलाई दुई वर्षभित्र राष्ट्रियसभा सदस्य बनाउने भित्री सहमति भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ।
प्रधानमन्त्रीले राउतमा भएको बौद्धिक क्षमता देश हितमा लगाउन आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीको प्रस्तावमा मौन समर्थन जनाएका राउतले सरकारको सुखी नेपाली र समृद्ध नेपाल नारालाई साथ दिन आफू तयार रहेको प्रतिबद्धतासमेत जनाएका छन्।
प्रधानमन्त्री ओली आवश्यक परे राउतलाई मन्त्री बनाउन पनि तयार रहेको श्रोत बताउँछ।