सीके राउतका कारण राजपा आक्रोशित
जनकपुर -प्रधानमन्त्री केपी शर्मा ओलीले देशको मूलधारको राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टीलाई उपेक्षा गरेर विखण्डनबादी शक्तिलाई प्राथामिकता दिएका छन् । सरकारलाई समर्थन दिएको राजपालाई प्राथामिकता नदिएपछि उसले सरकारलाई दिएको समर्थन फिर्ता समेत लिईसकेको अवस्थामा राजपालाई नै काउन्टर दिनका लागि सीके राउतलाई बढी महत्व दिएको राजपाको बुझाइ छ ।
राजपाका निर्वाचित सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सहितको फैसला सुनाएपछि राजपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्री ओलीले हामीलाई भेट्न समय नदिएपछि बाध्य भएर समर्थन फिर्ता लिएको राजपाका शीर्ष नेताहरुले बताएका थिए ।
त्यसकै भोलिपल्ट स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई सर्वोच्च अदालतको आदेशबाट रिहा गरिएको थियो । राउत रिहा भएकै दिन राति बालुवाटारमा प्रधानमन्त्री निवासमा वार्ता गर्दै सहमतिको मस्यौदा तयार गरिनुले पनि राउतलाई आवश्यकता भन्दा बढी महत्व दिएको प्रष्ट भएको छ । राजपा र फोरमले उठाउँदै आएको संविधान संशोधनको मुद्दालाई सरकारले किनारा लगाउने प्रयास गरेको देखिन्छ ।
‘हिजोसम्म देश विभाजनको मुद्दा लिएर मधेशमा आफ्नो अभियान चलाउदै आएका राउतले उक्त मुद्दा परित्याग गर्दै मूलधारको राजनीतिमा आएकोमा स्वागत गर्दछौं,’ राजपा नेपालका महासचिव केशव झाले भने, ‘देशको संविधान, राष्ट्रिय अखण्डता, नियम कानुन अनुरुप मूलधारको राजनीति गर्नु सकारात्मक पक्ष हो ।’
राउतले २०६८ सालदेखि अभियान चलाउने तयारी गरेको भए पनि मुख्यतया २०७१ सालदेखि औपचारिक रुपमा नै घोषणा गरेर देश विखण्डनको अभियान चलाउँदै आएका थिए । उनको त्यस अभियानले मधेशलाई धेरै ठूलो क्षति पुगेको थियो । ‘राउतकै कारण सबै मधेशी जनतालाई काठमाडौंले बिखण्डनकारीको आरोप लगाउने गर्दथे,’ झाले थपे, ‘राजपाले वा फोरमले गरेको आन्दोलनलाई राउतकै कारण देश टुक्र्याउने आन्दोलन भएको आरोप लाग्ने गर्थ्यो ।’ अब राउतको मूलधारको राजनीतिमा प्रवेश हुनाले राजपाले आगामी दिनमा आन्दोलन गर्दा झन् सहज हुने उनको आंकलन छ । त्यस्ता आरोप अब काठमाडौंले लगाउन नसक्ने भएपछि आन्दोलनले आफ्नो गन्तव्य पनि सहजै प्राप्त गर्न सक्ने उनले बताए ।
पछिल्लो प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा राउतले ‘कोठ्ली बाहर मतदान’को अभियान चलाएका थिए । खास गरेर त्यस अभियानका कारण धेरै मतदाता भ्रमित भएर कोठ्ली बाहिर मतदान गरेका थिए । मधेशमा मधेशकेन्द्रित दल राजपा र फोरमको गठबन्धनको बदर गर्न लगाएर नेकपा र नेपाली कांग्रेसलाई मदत गरेको हुनाले पनि राउत राज्यकै लागि विगतमा पनि काम गर्दै आएको मधेशी जनताको सन्देह अहिले आएर झन् पुष्टि भएको झाको निष्कर्ष छ ।
राउतले अहिले आएर जनमतमा जसरी विश्वास देखाएका छन्, पछिल्लो चुनावमा मधेशी मतदाताको मतको अपव्याख्या गरेर मधेशी जनताको भावनासँग खेलवाड गरेकोले राउत राज्यबाट नै परिचालित एक गोटी थिए भन्ने कुरा प्रष्ट भएको झा बताउँछन् ।
राउतलाई मूलधारमा ल्याउँदा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘राउतलाई देखाएर स्वार्थको रोटी सक्नेहरु थुप्रै थिए, अब ती सबैका दोकान बन्द हुनेछन् ।’ त्यसको अर्थ राजपा र फोरमले राउतलाई देखाएर राज्यसँग सौदाबाजी गर्दै आएको र आ-आफ्नो स्वार्थ पुरा गर्दै आएको प्रष्ट हुन्छ । ‘प्रधानमन्त्रीले त्यसो भन्नु उहाँको हार मानसिकताको उपज हो,’ राजपा महासचिव झाले भने, ‘राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँमा देखिएको डर त्रासका कारण त्यस्तो अभिव्यक्ति दिनु भयो ।’ बरु राजपालाई नै राउतको नाम देखाएर प्रधानमन्त्री ओलीले सधैं आफ्नो स्वार्थको रोटी सेक्दै आएको झा आरोप लगाउँछन् ।
‘मधेश आन्दोलनका क्रममा लगाईएका झुठा मुद्दा फिर्ता गर्नु पर्ने, जेलमा थुनामा रहेका आन्दोलनकारीलाई नि:शर्त रिहा गर्नु पर्ने हाम्रो मागलाई नसुनेर देश विखण्डन गर्न चाहनेको मागलाई तत्काल पूरा गर्नुले पनि प्रधानमन्त्री आफैंले विखण्डनकारीलाई बढावा दिएको अन्तर्राष्ट्रिय निकायले पनि बुझिसक्यो,’ झाले भने, ‘राजपालाई नजरअन्दाज गरेर राउतलाई बढावा दिनु पछाडिको रहस्य जनताले पनि बुझीसके ।’
अब केही दिनमै राष्ट्रिय आन्दोलन गरेर संविधान संशोधनका लागि राजपा अगाडी बढ्ने महासचिव झाले बताए ।