सीके राउतको प्रमाणपत्र खारेज गर्न माग - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

सीके राउतको प्रमाणपत्र खारेज गर्न माग



जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा सीके राउतको इन्जिनियरिङ परिषद्को दर्ता प्रमाणपत्र खारेज गर्न माग गर्दै जनकपुरधाममा इन्जिनियरहरूले प्रदर्शन गरेका छन्।

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि प्रदेश २ का इन्जिनियर आन्दोलित भएका हुन्।

नेपाल इन्जिनियर एसोसिएसन प्रदेश २ मा आबद्ध इन्जिनियरहरू जुलुस निकालेर जनमत पार्टी र जनमत पार्टीका अध्यक्ष सीके राउतविरुद्ध चर्को नाराबाजी गरेका छन्।

पीडित इन्जिनियरलाई न्याय दे, सीके राउतलाई कारबाही गर, इन्जिनियर सुरक्षाको ग्यारेन्टी गर, सीके राउतको इन्जिनियरिङ दर्ता खारेज गरलगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्।

इन्जिनियरसमेत रहेका जनमत पार्टीका अध्यक्ष राउतले इन्जिनियरिङ पेसाको गरिमा र मर्यादा हनन गरेकाले उनको नेपाल इन्जिनिरिङ परिषद्को दर्ता प्रमाणपत्रसमेत तत्काल खारेज गर्न नेपाल इन्जिनियरिङ परिषद्सँग माग गरेका छन्।

इन्जिनियरहरूको जुलुस नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सीके राउतमाथि कारबाही माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

जनमत पार्टीका कार्यकर्ताले बिहीबार कार्यालयमा पसेर तोडफोड गर्दै निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाई हिलो लगाएर नगर परिक्रमा गराएका थिए।