सीके राउत कहाँ के गर्दैछन् ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सीके राउत कहाँ के गर्दैछन् ?



जनकपुरधाम । सरकारसितको ११ बुँदे सहमतिसँगै राजनीतिको मूलधारमा आएका डा. सीके राउत सन्चारमाध्यम र अरु व्यक्तिको सम्पर्कमा आउन चाहेका छैनन् ।

सन्चारमाध्यमले ११ बुँदे सहमतिमा उल्लेख ‘जनअभिमत’ र उनको नेतृत्वको ‘स्वतन्त्र मधेस गठबन्धन’को आगामी रणनीतिबारे प्रतिक्रिया लिन पटक–पटक प्रयास गर्दापनि उनी मिडियासामु आउन मानेका छैनन् ।

यही फागुन २६ गतेदेखि जनकपुरधाम–८, बलवाटोलस्थित आफ्नो निजी निवासमा बस्दै आएका राउत अहिले राज्यको निगरानीमा रहेका छन् ।

सरकारी सुरक्षाकर्मी उनले फिर्ता पठाएपनि राज्यले उनको हरेक गतिविधिमा नजर राख्न उनको निवासको तेस्रो तलामा सीसी क्यामेरा जडान गरेको छ । नजिकै प्रहरीचौकीमा विशेष सुरक्षाकर्मी परिचालित छन् ।

राउत अहिले आफ्नो निजी निवासमा परिवारसित बस्दै आएका छन् । गठबन्धनका नेता–कार्यकर्ताबाहेक सन्चारमाध्यम र अरु समर्थकलाई भेटघाटमा रोक लगाएका छन् ।

राउतलाई उनकै निजी सुरक्षागार्ड ‘मधेस टास्कफोर्स’का दर्जनौं सदस्यहरुले निवासबाहिर र भित्र सुरक्षा दिँदै आएका छन् ।

अहिले उनी आउँदो चैत ४ र ५ गते हुने दुईदिने राष्ट्रिय परिषदको बैठकको तयारीमा जुटेको गठबन्धनका एक नेताले बताए ।

राउतको दैनिक दिनचर्या कार्यकर्तासित भेटघाट र बाँकी समय किताब पढ्नमा बितिरहेको उनको भनाइ छ ।

ती नेताले जनाएअनुसार पाँच महिना लामो जेल बसाइँपछि अहिले उनी आराम गरिरहेका छन् ।

राउतले सन्चारमाध्यम र अरु समर्थकमाझ सो परिषदको बैठक सकिएपछि होली पर्वपश्चात् आफ्नो धारणा राख्ने उनको भनाइ छ ।

सो गठबन्धनका सहसंयोजक कैलाश महतोले भने–‘तत्काल पार्टी गठन गर्ने सोच छैन । तर, परिषदको बैठकबाट निर्णय आएपछि विचार गर्नेछौं ।’

‘तत्काल हामी राज्यले गरेको सम्झौतामा इमान्दार भएर कति दायित्व पूरा गर्नेछ, त्यसको प्रतिक्षामा छौं’–उनले थपे–‘मधेसी आन्दोलनकारीसँग यो कुनै पहिलो सम्झौता होइन । मधेसी पटक–पटक ठगिँदै आएका छन् । यसपटक कतिको खडा उत्रिनुहुन्छ, त्यो हामीले हेर्नेछौं । त्यसपछि आफ्नो नयाँ कदम चाल्नेछौं ।’

नवीन सिंहले इमेजखबरलाई तयार पारेको रिपोर्ट