निर्वाचन रोक्न माग गरिएको रिटमा आज सुनुवाइ, यस्तो छ निर्वाचन सर्ने सम्भावना - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

निर्वाचन रोक्न माग गरिएको रिटमा आज सुनुवाइ, यस्तो छ निर्वाचन सर्ने सम्भावना



काठमाडौं– वैशाख ३० गतेको चुनाव रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ आज गर्ने भएको छ।

महोत्तरीको भँगाहा नगरपालिका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले पनि दर्ता गराएको रिट सर्वोच्चमा विचाराधीन छ। उनीहरुको रिटमा तेस्रो चरणमा अर्थात् २०७४ असोजको निर्वाचनबाट निर्वाचित भएकाले सोही अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरिएको छ।

त्यसमध्ये आज (सोमबार) चौरासियाको रिट पेसी रहेको छ। यसअघि कारण देखाऊ आदेश जारी भएको चौरासियाको रिटमा दोस्रो सुनुवाइ हुन लागेको हो।

चौरसियाले दर्ता गराएको रिटमा सोमबार संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न सक्ने सम्भावना रहेको छ।

फागुन १३ गते दर्ता गरिएको उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। आदेशमा सञ्जीवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेशसमेत भएको छ। दुवै रिटमाथि आज छलफल भएर अन्तिम फैसला निर्वाचन अघि हुन सक्ने सम्भावना पनि देखिन्छ।

उक्त दिन अन्तरिम आदेश जारी भएन भने निर्वाचनमा कुनै असर पर्ने छैन। अर्को पेसी स्थानीय निर्वाचनपछि जाने भएकाले निर्वाचनका लागि बाटो खुल्ला हुनेछ। सर्वोच्चले दुवै मुद्दा एकै प्रकृतिको भएको र मागदावी पनि एकै देखिएकाले सँगै राखेर सुनुवाइ गराउनका लागि सोमबारको समय तोकिएको जनाएको छ।

सोमबार अन्तरिम जारी भएमा भने निर्वाचन सर्न सक्नेछ। तर आदेश जारी नभएमा निर्वाचन आयोगलाई आफ्नो काम गर्न कुनै बाधा नहुने सर्वोच्चले जनाएको छ।

साहको रिटमा फागुन ११ गते पहिलो सुनुवाइ भएको थियो। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम जारी नहुने भन्दै लिखित जवाफ मागेर कारण देखाउ आदेश जारी गरेको हो।

मेयर साहको मुद्दा वैशाख २ गतेका लागि साधारण तारेखमा रहेको छ। उक्त मितिपछि पेसी तोकिने भएकाले यो मुद्दाको सुनवाइ सम्भवतः वैशाख ३० को निर्वाचनपछि नै हुनेछ।