प्रचण्ड-नेपालको सातो गएको छ: प्रधानमन्त्री ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा हारिने डरले प्रचण्ड-नेपालको साटो गएको बताएका छन्।
बुधबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उपत्यकामा ओली पक्षका सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा बोल्दै ओलीले उनीहरू आत्तिएको बताए ।
प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना नहुने दाबी समेत गरेका छन्। प्रचण्ड र नेपालले कराउँदैमा संसद विघटन फिर्ता नहुने ओलीको दाबी छ।
बहुमतको प्रधानमन्त्रीले गरेको संसद विघटन कानुनसम्मत भएको ओलीको दावी छ। उनले भने, ‘म ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ। त्यसैले संसद भंग गरेको हुँ।’
सविधानमा संसद पुनर्स्थापनाको ब्यबस्था नभएको उनले दाबी गरे। चुनाव गर्दा संविधान, लोकतन्त्र, गणतन्त्र, सघीयता केही पनि नजाने उनले दाबी गरे।
ओलीले प्रचण्डसँग गरेका सम्झौताले आफ्नो एउटा ब्रिफकेश भरिएको बताए।
उनले प्रचण्डले सम्झौताहरु नमानेका कारण समस्या भएको ओलीको भनाइ छ। उनले भने, ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेस भरिएको छ।’
आफूमाथि अविश्वास प्रस्ताव र राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव ल्याउने षड्यन्त्र भएको ओलीको आरोप छ। प्रचण्ड र माधव नेपाल मिल्दा उनीहरुको पक्षमा पार्टीमा बहुमत पुग्छ भन्ने थाहा हुँदाहुँदै पनि पार्टी एकताका लागि आफूले त्यसलाई स्वीकार गरेको उनले बताए।
तर त्यसको प्रयोग पार्टी एकताका लागि भन्दा पनि आफ्नो स्वार्थका लागि भएको उनको भनाइ छ। उनले भने, ‘उहाँहरुलाई दिएको संख्या एकताका लागि हो। देश अगाडि बढाउनका लागि दिएको हो। तर उहाँहरुले त्यसको प्रयोग आफ्नो स्वार्थका लागि गर्नुभयो।’
आफूले गर्दा नै नाकाबन्दीका बेला चीनसँग पारवहन सन्धि भएको उनको दाबी छ।
रानीपोखरी शिलान्यास गरेर अलपत्र पारेको तर आफू आएपछि बनाएको उनको भनाइ छ।
‘केही महिनापछि २२ तलामाथि धरहराबाट काठमाडौं हेर्न म आग्रह गर्छु,’ उनले भने।
उनले अब चुनाव जसरी पनि हुने दाबी गरे। केही मानिस उत्ताउलो मात्रै भएको उनको भनाइ छ।
उनले भने, ‘प्रचण्डले ओलीलाई निकालेको रे, उहाँले दिएको सदस्यता हो र?’
उनलेे आफूले नै सिकाएर नेता बनाएको माधव नेपालले उधारो हुन्न भन्न थालेको दाबी गरे।
‘प्रचण्ड र नेपाल फुरुफुरु गर्दै, आफूलाई गाली गर्दै हिँड्ने गरेको तर जनताले हिसाबकिताब निकाल्छन्,’ उनले भने।
चुनाव भनेपछि अहिले प्रचण्ड र नेपालको सातो गएको ओलीले टिप्पणी गरे।
आन्दोलनमा होमिएका योद्धाहरुलाई अलपत्र पार्ने प्रचण्ड आज महान शान्तिवादी र महान परिवर्तनकारी बनेको ओलीको भनाइ छ।
उनले भने, ‘कतिका हात छैनन्, कतिका खुट्टा छैनन्। उनलाई जिताउन ज्यान दिने हजारौँ युवाहरुको परिवारको अवस्था के छ? उहाँलाई त्यसको चिन्ता छ?’
प्रचण्डको आत्मकेन्द्रीत सोचका कारण समस्या उत्पनन् भएको ओलीको आरोप छ।
माधव नेपालको विषयमा आफू केही बोल्न नचाहेको ओलीले बताए। उनले भने, ‘माधव नेपाल प्रचण्डको एउटा मात्रै कार्यकर्ता हो। उहाँको बारेमा भन्नेपर्ने केही छैन।’