कान्तिपुर लेख्छ - चुनाव सकिएलगत्तै नेपालमाथि भारतको दादागिरी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कान्तिपुर लेख्छ – चुनाव सकिएलगत्तै नेपालमाथि भारतको दादागिरी



काठमाडौं – भारतीय पक्षले पूर्वसूचनाविना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुवानमा परेको छ ।

गोवरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् ।

भारतीय पक्षले एकतर्फी रुपमा तीन वर्षदेखि खन्दै आएको पाइलट च्यानलमा पानी छाडेको हो । नगरप्रमुख शैलेसकुमार साहले शुक्रबार साँझबाट गोबरगाढा आउन र जान नसकिएको बताए । ‘पानी छाड्ने भएपछि पूर्वसूचना जरुरी थियो’, उनले भने । गोबरगाढामा तीन सय हाराहारीको बसोबास रहेको वडाअध्यक्ष विन्देश्वरी यादवले बताए ।

‘शुक्रबार नगरपालिका कार्यालय आएकाहरु साँझ घर फर्किन लाग्दा गोबरगाढा पश्चिमको भँगालोमा ठूलो बेगसहित पानीको बहाव थियो’, वडाध्यक्ष यादवले भने, ‘केही पुरुष पौडी खेल्दै ज्यान जोखिममा पारेर बस्तीतर्फ गए, महिलाहरु यतै बस्नुप¥यो ।’ नगरप्रमुख साहले ७०–८० किलोमिटर प्रतिघण्टाका दरले च्यानलमा पानी बगिरहेको बताए । भारतीय पक्षले कोसीको भारततर्फ रहेको पूर्वी तटबन्धलाई मजबुत पारी पानीलाई पश्चिमी तटबन्धसँग टाँसिने गरी पाइलट च्यानल बनाएको छ । भारतले नेपाली पक्षलाई थाहै नदिई उक्त पाइलट च्यानल खन्न थालेको हो । कान्तिपुर दैनिकबाट