ओलीले भने: जेठमा निर्वाचन नभए राजीनामा दिन्छु - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

ओलीले भने: जेठमा निर्वाचन नभए राजीनामा दिन्छु



सुर्खेत- दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदाे जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यसअवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने ओलीको घोषणा छ ।

वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शंका गर्दै उनले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले भनेका छन्,‘सरकारले चुनाव घोषणा गरेन भने पनि म संविधान र जनताको अभिमतको कदर गर्दै २०७० साल जेठ ४ गते ठिक १ बजे नै जनताका नाममा सपथ खाएको समयमा आफ्नो पालिकाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’

नेपाली कांग्रेस दैलेख जिल्ला कार्यसमितिका सचिवसमेत रहेका ओलीले संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारको अवधि आगामी ५ जेठमा सकिने बताए । ‘हामीले २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा निर्वाचित भएपछि जेठ ४ गते १ बजे शपथ खाएका हौं,’ उनले भने, ‘अहिलेको सरकारले पनि त्यसै मितिसम्म निर्वाचन गरोस् । यदि सरकारले जेठ भित्र निर्वाचन नगरे मैले शपथ खाएको मितिअनुसार नै पदबाट राजीनामा दिन्छु ।’