चोलेन्द्र शमशेरका नाममा ३० करोड बढीको सम्पत्ति, छानबिनका लागि पुरक निवेदन - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

चोलेन्द्र शमशेरका नाममा ३० करोड बढीको सम्पत्ति, छानबिनका लागि पुरक निवेदन



काठमाडौ- चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको परिवारका नाममा ३० करोड बढीको सम्पत्ति देखिएको बताएका छन् ।

उनले प्रधानन्यायाधीश जबराको अकुत सम्पत्ति थुपारेको भन्दै छानबिनका लागि आग्रह गर्दै सम्पत्ति शुद्धीकरण विभागमा पुरक निवेदन दर्ता गराएका छन् ।

उनले यसअघि पुस ११ गते सम्पत्ति शुद्धीकरण विभागमा निवेदन दिएका थिए । डा. केसीले जबराका भाइ प्रभु शमशेर जबराको नाममा गैरकानुनी असुलीलगायत अन्य अवैध स्रोतबाट विभिन्न स्थानमा सम्पत्ति रहेको बताएका छन् ।

फेरि माघ १८ मा अर्को निवेदन दिँदै भनेका छन्, “चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबराको नाममा गैरकानुनी असुलीलगायत अन्य अवैध स्रोतको आम्दानीबाट २०७६ मंसिर २४ मा खरिद भएको ठमेलको आठ आना घरजग्गा, २०७८ असोज २० मा गोठाटारमा साढे तीन रोपनी जग्गा समेत गरी ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरु रहेको तथ्य अवगत हुन आएको हुँदा सो सम्बन्धमा र निजको परिवारका सदस्यहरु, नातेदार तथा भ्रष्ट गिरोहमा आवद्ध सदस्यहरुका सम्बन्धमा समेत छानबिन गर्न, तत्काल सम्पत्ति रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न तथा अवैध सम्पत्ति जफत गरी दोषीलाई कानुन बमोजिम हदैसम्मको सजाय गर्ने सम्बन्धमा आवश्यक कारवाही गर्न अनुरोध गरिन्छ ।”