प्रधानन्यायाधीशविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

प्रधानन्यायाधीशविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र उनको परिवारको नाममा अवैध सम्पत्ति रहेको भन्दै छानबिनको माग गरी डा गोविन्द केसीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् । प्रधानन्यायाधीश जबराले बिचौलियाहरुसँग मिलेर अपराधिक समूह खडा गरी अवैध सम्पत्ति आर्जन गरेको उजुरीमा उल्लेख छ ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा केसीले आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेम कुमार भट्टराईलाई भेटेर उजुरी दिएका हुन् ।

उजुरीमा प्रधानन्यायाधीश राणाकी श्रीमती रेजी राणा(क्षेत्री)को नाममा ठमेलमा रहेको करिब ४० करोड रुपैयाँ बराबरको सम्पत्तिको पनि छानबिनको माग भएको छ । झगडिया पक्षसँग सो घरजग्गा प्रधानन्यायाधीशको श्रीमतीको नाममा आएको खुलेको थियो । त्यस्तै, उनका भाई प्रभु शमशेर राणाको नाममा बानेश्वरमा रहेको आइप्लेक्स मलको पनि छानबिन गर्न माग गरिएको छ ।

न्यायालयमा संगठित अपराधको गिरोह चलाएको आरोपमा प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एशोसियसनले तीन महिनादेखि आन्दोलन गर्दै आएको छ । आन्दोलनमा नागरिक समूह पनि मिसिएको छ । सबै क्षेत्रबाट बहिष्कार हुँदा पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन मानेका छैनन् ।