जबराको चेतावनी: दबाब र प्रभावमा फैसला गरेको छैन, दोष दिने काम बन्द गर्नु - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

जबराको चेतावनी: दबाब र प्रभावमा फैसला गरेको छैन, दोष दिने काम बन्द गर्नु



काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपालिकामाथि दोष दिने काम नगर्न चेतावनी दिएका छन् । प्रधानन्यायाधीश राणाले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए।

उनले भने, ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरु समाज र नागरिकसँग अभिप्रेरित हुन्छ। र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ। न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनु पर्दछ। अथवा न्यायपालिकालाई दोष पनि दिनु हुन्न। र महत्व पनि दिनु हुन्न। यो आफै महत्वपूर्ण निकाय हो। यसले नागरिकलाई जहिले पनि माग निर्देशन गर्दछ। नागरिकभित्र देशका सबै नागरिकहरु राष्ट्रपतिदेखि सबै पर्दछन्। देशका सबै निकायहरु यसै अन्तर्गत पर्दछन्।’

प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला गर्ने नगरेको दावीसमेत गरे।

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए। उनले कानुनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गरे।

मन्त्री कार्कीले मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यक्तामा पनि जोड दिए।