'ओलीले पार्टी फोर्छु, भस्मासुर बन्छु भनेर पार्टी फुट्दैन, चोइटिने मात्र हो' - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

‘ओलीले पार्टी फोर्छु, भस्मासुर बन्छु भनेर पार्टी फुट्दैन, चोइटिने मात्र हो’



काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता अध्यक्षद्वले गरेको एकलौटी निर्णय आफूलाई मान्य नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचमा भएको एकलौटी निर्णय स्थायी कमिटी बैठकलाई मान्य नहुने बताएका हुन् ।

नेता खनालले पार्टीका समस्याबारे स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने बताउँदै ‘वान टु वान’ वार्ताबाट निस्किएको निष्कर्ष आफूहरुले स्वीकार नगर्ने बताए । उनले अनावश्यक रुपमा स्थायी कमिटी बैठक स्थगित गरेर दुवै अध्यक्ष पार्टीको विधि र विधानअनुसार नचलेको बताएका छन् ।

‘बैठक भन्दा बाहिरबाट सोलुसन निकाल्ने कुराहरु पार्टीको निम्ति मान्य हुन सक्दैन । स्थायी कमिटी बैठकमा पार्टीभित्रका समस्याको हल हुनुपर्छ’, उनले भने, ‘बैठकलाई स्थगित गरेर छुट्टाछुट्टै बैठक गर्ने, विभिन्न गुटका बैठक गर्ने मान्छेलाई आरोप प्रत्यारोप लगाएर मात्र समस्याको हल हुँदैन ।’

त्यस्तै नेता खनालले स्थायी कमिटी बैठक आफूखुसी स्थगित गरे ओली र प्रचण्डका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् । ‘यो बैठक नियमित हुनुपर्छ । प्रधानमन्त्रीसहित नेताहरु बैठकमा सहभागी हुनुपर्छ । यो बैठक ऐतिहासिक बैठक हो । बैठकमा बृहत छलफल हुनुपर्छ’, उनले भने, ‘यो बैठकमा बसेर सबै नेताहरुले बैठकको सामना गर्न सक्नुभएन भने आफ्नै लागि दुर्भाग्य निम्त्यिाउनु बाहेक केही देख्दिन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले तत्काल पार्टी फुट्ने सम्भावना नरहेको बताएका छन् । उनले संवैधानिक र व्यावहारिक रुपमा नेकपा नफूट्ने बताएका हुन् ।

‘यो पार्टीलाई कसैले पनि फुटाउन सक्दैन । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यदी यो पार्टी फोर्छु । पार्टीमा विधंस गर्छु । अब म भस्मासुर हुन्छु भनेर सोच्नुभयो भने त्यो बेला हामीले सोच्नुपर्छ । चैटिएर मात्र जान्छ पार्टी फुट्दैन’, उनले भने, ‘उहाँले पार्टी फुटाउनु हुँदैन, पार्टी फुट्ने सम्भावना म देख्दिन । अरु कसैले पनि पार्टी फुटाउने कुरा सोचेका छैनन् । उहाँले कसरी सोच्नुभएको छ । त्यसमा मेरो प्रश्न छ ।’

नेता खनालले स्थायी कमिटी बैठकले ओलीलाई राजीनामा दिन लगाएर इमान्दारीपूर्वक राजीनामा दिनुपर्ने बताएका छन् ।