ओली-प्रचण्डले चोचोमोचो मिलाए: माधव नेपालका असन्तुष्टिको वेवास्ता - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

ओली-प्रचण्डले चोचोमोचो मिलाए: माधव नेपालका असन्तुष्टिको वेवास्ता



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई वेवास्ता गर्दै स्थायी कमिटी बैठकका लागि प्रस्ताव तयार पारेका छन् ।

भदौ २६ गते अर्थात शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि बुधबार तयार पारिएको प्रस्तावमा नेता नेपालका असन्तुष्टि समेटिएको छैन । नेता नेपालले नेकपाको विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनलाई समेटेर १५ बुँदे असन्तुष्टि जनाएका थिए ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा तयार पारिएको प्रस्तावमा असन्तुष्ट नेतालाई पनि सम्बोधन गरेर जाने आंकलन गरिएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई नसमेटी दुई अध्यक्षले प्रस्ताव तयार पारेका हुन् ।

उनले महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । नेता नेपालले ‘एक व्यक्ति एक पद’ कार्यान्वयन हुनुपर्ने माग राखेका थिए । नेता नेपालले सरकारका कामका विषयमा कुनै उल्लेख नगरिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

उनले कार्यदलको उक्त प्रतिवेदनमा केही विषय थपघट गर्नुपर्ने बताएका थिए । नेपाललले कार्यदलको उक्त प्रतिवेदनलाई टालटुलेको संज्ञा दिएका छन् । उनले भनेका थिए, ‘दुई अध्यक्षको निर्णय भएपछि त्यो अवस्थामा पार्टी कमिटी प्रणाली के हुन्छ ? प्रतिवेदनमा षड्यन्त्रलाई चिर्दै भनिएकोमा त्यो के भनिएको हो र कसको षडयन्त्र भनिएको हो स्पष्ट हुनुपर्छ ।’

अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा नेता नेपालका असन्तुष्टिलाई सम्बोधन नगरेपछि यसको चर्चा सुरू भएको छ । नेता नेपाल निकट एक नेताले दुई अध्यक्षको यस्तो प्रस्तावले पार्टीभित्र थप विवाद उत्पन्न हुनसक्ने बताउँछन् । सचिवालय बैठकमै पनि नेता नेपालले कार्यदलको प्रतिवेदनमाथि थप छलफल हुनुपर्ने र केहि बिषय थपिनुपर्ने बताएका थिए ।

त्यस लगत्तै नेपालले कार्यदलको प्रतिवेदनलाई समेटेर १५ बुँदे असन्तुष्टि जनाएका थिए । दुई अध्यक्षले तयार पारेको प्रस्तावमा भने नेता नेपालले जनाएका असन्तुष्टि समेट्ने प्रयास समेत गरिएको छैन ।

नेकपामा विवाद समाधान हुनै लागेको चर्चाका बीच नेता नेपालका असन्तुष्टिलाई अध्यक्षद्वयले नसमेट्नुलाई कतिपयले ओली-प्रचण्डले चोचोमोचो मिलाएको समेत बताएका छन् ।