प्रचण्ड र रेणुले माफी माग्नुपर्ने चितवन कांग्रेसको सर्त - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रचण्ड र रेणुले माफी माग्नुपर्ने चितवन कांग्रेसको सर्त



नेपाली कांग्रेस चितवनले प्रचण्ड र उनकी छोरी नेणुले यसअघि ठुलो ढोका दिएको भन्दै माफी माग्नुपर्ने सर्त अगाडी सारेको छ । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले प्रचण्ड र रेणुले माफी मागे मात्रै चितवनमा गठबन्धन हुन सक्ने बताएका छन्।

चितवन निवासी नेता कोइरालाले माओवादीले २०७४ सालको निर्वाचनमा दिएको धोकामा गल्ती स्वीकारेर कांग्रेसलाई विनाशर्त सघाएमा मात्रै चितवनमा गठबन्धन सम्भव हुने बताएका छन्।

सभापति शेरबहादुर देउवा गठबन्धन हुनै पर्ने अडानमा दृढ रहेका बेला कोइरालाले भने सानेपामा शुक्रबार पत्रकारहरुसँग कुराकानीका क्रममा २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसको भोटबाट जितेर माओवादीले धोका दिएको बताए।

उनले चितवनको मेयरमा कांग्रेसको मतबाट माओवादीले जितेपछि संघीय निर्वाचनमा धोका दिएर एमालेसँग मिलेको भन्दै आक्रोश पोखे।

कोइरालाले तत्कालीन नेकपा र वर्तमान एमाले फुटेका बेला पनि कांग्रेसले एक्लै लड्ने हिम्मत नगर्नु दुख लाग्दो भएको बताए। ‘कम्युनिस्टहरु फुटेका बेला पनि कांग्रेस एक्लै नलडे कहिले लड्ने कांग्रेसले?’, उनले प्रश्न गरे।

उनै कोइरालाले छाडिदिएपछि पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल मतपत्र च्यातेका सहित अनेक विवादबीच एमाले नेता देवी ज्ञवालीलाई हराउँदै मेयर बनेकी थिइन्।

‘जिल्लामा केन्द्रले गठबन्धन गरेर जिताउने त होइन होला? जिल्लाकै गठबन्धनले जित्नुपर्ने होला नि?’, उनले भने, ‘हामीले चितवनभर गठबन्धन गर्ने हो भने माओवादीले विगतमा दिएको धोकालाई लिएर माफी माग्नुपर्छ। यस पटक पनि धोका नहुने ग्यारेन्टी गर्नुपर्छ। यो पटक विनाशर्त कांग्रेसलाई साथ दिन्छौँ भनेमा हामी मिलेर अघि बढ्न तयार छौँ।’

चितवनको भरतपुरमा कांग्रेसबाट निर्वाचित उपमेयर पार्वती शाहले मेयरमा दाबी गरिरहेकी छन्। यस्तोमा कोइरालाले आफू माओवादी र समाजवादीसहितको गठबन्धनको विपक्षमा रहेको बताउँदै त्यही कुरा बैठकमा पनि भनेको जानकारी दिए।