प्रधानमन्त्री ओलीलाई प्रचण्डको काउन्टर
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेर प्रधानमन्त्री ओलीलाई काउन्टर दिएका छन् ।
उनले सडकमा जिन्दावाद र मुर्दावादको नारा लगाएर पार्टी एकतालाई कमजोर पार्ने काम भैरहेको भन्दै एउटै पार्टीभित्र भैरहेका यस्ता गतिविधि सहि नभएको बताएका छन् । आफू कार्यकारी अध्यक्ष भनेपछिको पहिलो बैठकमै तुरुन्त नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्णय गराएको भन्दै उनले नक्शा सबैको पहलमा बनेको जिकिर पनि गरे ।
‘मलाई कार्यकारी अध्यक्ष भनेपछिको पहिलो बैठकमै मैले तुरुन्त नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्णय गराएको हो ,’ उनले भने, ‘पार्टीमा कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भनेर देखाउन खोजिएको छ, यहाँ कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भन्ने छैन । मिलेरै नक्सा बनाएको हो । मिलेरै काम गरेको हो । सरकारलाई सबैले धन्यवाद दिएकै छन् । अहिल पार्टीभित्र मुर्दावाद र जिन्दावाद किन ? विभाजन हुन दिइने छैन ।”
अध्यक्ष प्रचण्डले सबैले मिलेर नक्सा प्रकाशित गरेकाले कोही राष्ट्रघाती र राष्ट्रवादी नरहेको बताएका छन् । उनले पार्टीभित्र जिन्दावाद र मुर्दावादको नारा लागेकोमा आपत्ति जनाएका छन् ।
उनले भने, ‘मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।’
पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उनले भने, ‘यसमा पनि तपाईहरुको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।’ आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरे ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आइतबार चितवनमा सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए । प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् ।
प्रचण्डले सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उनले सुझाव दिए । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो ।
उनले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिए । अध्यक्ष दाहालले भने, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको समृद्धिको आधार बन्छ ।’ साथै जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए ।
वर्षातमा नभएर त्यसअघि नै विपद् व्यवस्थापनको तयारी र विकासनिर्माणको काम गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाको समग्र विपद् व्यवस्थापनको पूर्वतयारी र अहिलेको अवस्थाबारे जानकारी गराएका थिए ।
सो अवसरमा प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, सरोकार कार्यालयका प्रमुख तथा सरोकार सङ्घसंस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रको गतिविधि र धारणा राखेका थिए ।
चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दाहाल उपस्थित भएको बेला पारेर विपद् व्यवस्थापन समिति बैठक राखिएको हो । अध्यक्ष दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षति पछि निरीक्षणका लागि गृहजिल्ला आएका हुन् ।