चित्रबहादुरको अवस्था गम्भीर, छोराले भने– पार्टीले पैसा उठाउने बहाना बनायो - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

चित्रबहादुरको अवस्था गम्भीर, छोराले भने– पार्टीले पैसा उठाउने बहाना बनायो



काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना संक्रमण पुष्टि भएका उनलाई केही दिन अघिबाट निमोनियाले ग्रस्त बनाएको बताइएको छ ।

स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । हाल केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले सहयोग गर्न समेत जनमोर्चाले अपिल गरेको छ । बुधबार बसेको पार्टीको बैठकले अध्यक्ष केसीको उपचारमा लाग्ने खर्च जुटाउन सहयोग संकलन सुरु गर्ने समेत निर्णय गर्दै उपचारमा सहयोग गरिदिन पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई अनुरोध गरिएको छ ।

उनको उपचारमा सहयोग गर्न चाहनेले राष्ट्रिय जनमोर्चाका नाममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा रकम जम्मा गर्न सक्ने सो पार्टीले जनाएको छ ।

तर केसीका जेठा छोरा सचित्र केसीले भने आफ्नो बुबा खतरामुक्त रहेको भन्दै अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्न अनुरोध गरेका छन् ।

उनले फेसबुकमा ‘बुबा खतरामुक्त हुुनुहुन्छ । अनावाश्यक हल्ला गरेर पैसा उठाउने बहानामा कोहीपनि नफस्नुहोला । आवश्यक परे हामी पारिवारिक रुपमा सूचना गर्नेछौँ’, भनेका छन् ।