रेणुलाई भोट माग्ने गठबन्धनको कार्यक्रम शेखरले गरे बहिस्कार
काठमाडौँ – काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनले बिहीबार भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछ। सभामा सम्बोधन गर्न गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन्।
भरतपुरको हाकिमचोकस्थित केन्द्रीय बस टर्मिनलमा हुने सभामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।
यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले पनि सम्बोधन गर्ने छन्। कांग्रेसका नेता शेखर कोइराला भने सभामा नजाने भएका छन्। सभामा जसपा र राष्ट्रिय जनमोर्चाका नेताले पनि सम्बोधन गर्नेछन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भने रेणु दाहालका लागि भोट माग्ने कार्यक्रम बहिस्कार गरेका छन् । कोइरालाले चितवनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी नहुने जनाएका छन् । कोइरालाको सचिवालयले कोइराला विराटनगर रहेकाले चितवनको कार्यक्रममा सहभागी हुन नसक्ने बताएको छ ।
यसअघि कोइरालाले चितवनमा गठबन्धन नगर्न पार्टीलाई पटकपटक सुझाव दिएका थिए । अहिले बागी उठेका जगन्नाथ पौडेल पनि शेखर समूहकै नेता हुन् ।
आधिकारिक रुपमा चितवनबाट कुनै खबर नआएको र त्यससम्बन्धी औपचारिक जानकारी पनि नभएको उनको सचिवालयले जनाएको छ ।
प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पूर्वनिर्धारित चुनावी कार्यक्रमहरु भएकोले डा. शेखर चितवन जाने कुरा न्यून रहेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
सञ्चारमाध्यमहरुमा डा. शेखर भरतपुर महानगरपालिकाबाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाललाई जिताउने चुनावी सभामा सम्बोधन गर्न चितवन जाने भनेर समाचारहरु आएका थिए ।