ओलीको पछाडी लाग्दा 'घर न घाट'को भए ठाकुर, उपेन्द्रलाई दुईतिहाई - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

ओलीको पछाडी लाग्दा ‘घर न घाट’को भए ठाकुर, उपेन्द्रलाई दुईतिहाई



काठमाडौं । सत्ता परिवर्तनसँगै जनता समाजवादी पार्टीभित्रको शक्ति सन्तुलनफेरिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन लगायतका असंवैधानिक कार्यमा सहयोग गरेपछि पहिले महन्थ ठाकुरलाई साथ् दिएका अधिकांश नेताहरूले उपेन्द्र समूहलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

पार्टीमा अहिले ठाकुर समूह ओलीको पछाडी लागेकाले घर न घाटको भएको समेत चर्चा हुन थालेको छ ।संसदीय दलमा करीव दुईतिहाई बहुमतमा रहेको ठाकुर पक्ष अहिले भने निरिह बनेको छ ।

अहिले भने उपेन्द्र यादव पक्ष दुई तिहाई नजिक पुगेको छ भने ठाकुर पक्ष निरीह बनेको छ । एक वर्षअघि राजपा र समाजवादी पार्टी एकीकरण हुँदाको शक्ति अब ठाकुरले गुमाएका छन् । निर्वाचन आयोगमा हेड काउन्ट हुँदा ठाकुर पक्ष निरीह र यादव पक्ष विजेताका रूपमा देखिएका छन् ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउँदै गर्दा ठाकुरले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत नपाउने अवस्था देखिएको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरिसकेका छन् भने जेलमा रहेका रेशम चौधरीले पनि यादवलाई साथ दिने बताइएको छ । ठाकुर पक्षमा कार्यकारिणी समितिका १६ जना पनि नपुग्ने यादवनिकट नेताहरूको दावी छ ।

निर्वाचन आयोगले यादवलाई आधिकारिकता दियो भने ठाकुरलाई अर्को दल दर्ता गर्ने मौका दिन्छ । तर, ४० प्रतिशत पुगेन भने सांसद पद धरापमा पर्ने अवस्था हुन्छ र ठाकुर अझ कमजोर हुन्छन् । जसपाका ३२ सांसदमध्ये १९ जना यादव पक्षमा पुगिसकेका छन् ।