'जनयुद्ध'मा चिप्लिए ओली: पूर्वमाओवादी नेताहरूले साथ छोड्ने संकेत - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

‘जनयुद्ध’मा चिप्लिए ओली: पूर्वमाओवादी नेताहरूले साथ छोड्ने संकेत



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धबारे अपमानजनक टिप्पणी गरेका छन् । ओलीले ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको बताएपछि समर्थकले पर्रर्र ताली ठोकेका थिए ।

शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेकपा (ओली पक्ष)को युवा संघ बागमती कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले जनयुद्ध कुहिएको फर्सी र प्रचण्ड कामै नलाग्ने नेता भएको बताए ।

ओलीको यस्तो अभिव्यक्तिले ओलीलाई साथ् दिएका कतिपय पूर्व माओवादीका नेताहरू रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीले अपमानजनक टिप्पणी गरेको भन्दै ओलीलाई साथ् दिएकोमा ग्लानी भैरहेको एक नेताले बताए ।

नाम नखुलाउने सर्तमा एक पूर्वमाओवादी नेतासँग हिमालपोस्टले गरेको कुराकानीमा उनले ओली यस्तो रूपमा प्रस्तुत हुन्छन भन्ने नसोचेको बताए । उनले भने, ‘हामीले १० वर्ष लडेर ल्याएको ब्यबस्थामाथि धावा बोलेर ओलीले त्यो उपलब्धिलाई नै अपमान गरेको महसुस भयो । महान जनयुद्धलाई ओलीले हेर्ने नजर के रहेछ भन्ने प्रष्ट भयो ।’

तपाईंहरूले गरेको जनयुद्ध त कुहिएको फर्सी रहेछ नि भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘यस्तै गरेकैले रहेछ नेताहरू उनीसंग टिक्न नसकेको, जनयुद्ध होइन साँच्चै ओलिजीको सोँच भने कुहिएको रहेछ ।’

अनौपचारिक कुराकानीमा उनले यो शब्द प्रधानमन्त्री ओलीका लागि प्रत्युत्पादक बन्ने बताए । उनले आफूहरू यो शब्द सुनेर छाँगाबाट खसेजस्तै भएको सुनाए । उनले भने, ‘मैले यो सुन्नेबित्तिकै बादल र रायमाझी कमरेडलाई पनि सुनाएँ, उहाँहरुले यो ठिक भएन भन्नुभएको छ।’

कार्यकर्ता भेलामा ओलीले भनेका थिए, ‘केपी ओलीको वैशाखपछि राजनीति रहँदैन, समाप्त हुन्छ भने। यिनका भविष्यवाणी कति ठाउँ खेर गए। महान् जनयुद्ध भनेर कराए। महान् जनयुद्ध के भो? फर्सी कुहिए झै कुहियो।’