कोरोनाविरुद्ध चिनियाँ खोप सोचेभन्दा छिटो
काठमाडौं । कोरोना भाइरस महामारीको खोप अहिलेसम्म तयार हुन सकेको छैन । परीक्षण धेरै नै भए पनि खोप तयार हुन अझै केही समय लाग्नेछ ।
खोप पूर्ण रुपमा तयार हुन रोग सुरु भएको कम्तीमा डेढ वर्ष लाग्ने भनिँदै आएको छ । तर चीनले भने एउटा खोप यसै वर्षको अन्त्यसम्ममा मानिसहरूमा प्रयोगका लागि उपलब्ध हुनसक्ने बताएको छ ।
त्यसो भयो भने अपेक्षित समयभन्दा अगाडि नै परीक्षणपछि खोप तयार हुनेछ । चाइना न्याश्नल फार्मसूटिकल ग्रुपका अनुसार मानवमा अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने उसको आशा रहेको बीबीसीले लेखेको छ ।
चीनमा एकदमै कम सङ्क्रमण पाइएकोले गत जुन महिनामा उसले खोप आउन केही विलम्ब हुने जनाएको थियो ।
हाल संयुक्त अरब एमिरेट्स युएईमा हजारौँ मानिस तेस्रो चरणको परीक्षणमा सहभागी भइरहेका छन् । अर्को चिनियाँ कम्पनीले त्यही विधि अपनाई ब्रजिलमा उन्नत खालको परीक्षण गरिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले खोप विकासका कुरालाई सावधानीपूर्वक हेर्दै आएको छ। उसले खोप विकासको दिशामा अर्को वर्षको आरम्भतिर उपलब्धि हासिल हुनसक्ने बताउने गरेको छ।