अमेरिकामा चिनियाँ प्राेफेसरकाे हत्या: काेराेना अमेरिकी ल्याबले बनाएको खुलेपछि मारिएको आरोप
एजेन्सी- कोरोनाभाइरसबारे रिसर्च गरिरहेको चीनमा जन्मिएका एक प्रोफेसरको अमेरिकामा भएको मृत्युलाई अब विश्वभर षडयन्त्र भन्न थालिएको छ ।
३७ वर्षका बिंग ली शनिबार आफ्नो घरमा मृत पाइएका थिए । उनी पिट्सबर्ग विश्वविद्यालयको स्कुल अफ मेडिसिन विभागमा असिस्टेन्ट प्रोफेसर थिए ।
उनीसँगै काम गरिरहेका अन्य प्रोफेसरहरुले चाहिँ उनी कोभिड १९ बारे अहम खोज गरिरहेको र त्यसको नजिक पुगेको बताएका छन् । यहीबीच विश्वभर अनलाइन मिडियामा उनको हत्या भएको समाचार आएको थियो ।
तर, प्रहरीले उनको हत्या मात्र नभएर, यो घटनामा अर्को आत्महत्या पनि जोडिएको बताएको छ । प्रहरीका अनुसार पिट्सबर्गमा बिंग लीको टाउको, छाती र हात र घाँटीमा गोली लागेको थियो । उनलाई गोली हान्ने व्यक्तिको पनि पहिचान भएको छ । लीमाथि गोली चलाउने व्यक्ति ४६ वर्षका सफ्टवेयर इन्जिनियर हाउ गु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनले लीलाई गोली हानेर फर्किँदा आफूले पनि आत्महत्या गरेको जनाएको छ ।
ली र गुले एकले अर्कालाई राम्रोसँग चिनेको र यो घटनामा पहिले हत्या भएको र त्यसपछि आत्महत्या भएको दाबी अमेरिकी प्रहरीको छ । यसअघि यी दुई अन्तरंग साथी भएको बताइएको छ । उनीहरुबीच अर्को एक साथीबारे बहस भएको छानबिनमा प्रहरीले पाएको छ । त्यसैले प्रहरीले कोरोनाभाइरसबारे उनको अध्ययनमा यो हत्याको कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको छ ।
ली चिनियाँ हुन् । उनले सिंगापुरमा स्नातक र पिएचडी गरेका थिए । त्यसपछि शोधका लागि उनी अमेरिका गएका थिए ।
उता, चिनियाँ सामाजिक सन्जाल प्लेटफर्म विबोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘ओ माइ गड, यस्तो लाग्छ कि यो मिसन इम्पोसिबलको एउटा कथा हो । सायद उनी कोरोनाभाइरस अमेरिकाको ल्याबमा तयार भएको निष्कर्ष निकाल्न नजिक पुगिसकेका थिए ।’
चिनियाँ अधिकारीहरु र सरकारी मिडियाले यो कोरोनाभाइरस अमेरिकी ल्याबमा बनेको र अमेरिकी सेनामार्फत् चीनसम्म पुर्याइएको केही अघिदेखि दाबी गर्दै आएका थिए ।
चिनियाँ सरकारी मिडियासँग जोडिएको एक न्युज वेबसाइट ग्लोबल टाइम्सले लेख छाप्दै लीको हत्यामा कयौँ अरु अड्कल लगाइएको जनाइएको छ ।