माओवादी र एमाले मिलाउने चीनको अर्को प्रयास, अनन्तले दिए वचन
काठमाडौं- चीन नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक बनाउने कसरतमा जुटेको छ । सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टी नेपालका वामपन्थी पार्टीहरुलाई एक बनाउने कसरतमा जुटेको हो ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवं उपमन्त्री चेन झाओले आफूहरुले नेपालका कम्युनिष्ट घटकहरुबीच एकता चाहेको उल्लेख गरेका छन् ।
स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनसँग नेपाल मामिलासमेत हेर्दै आएका उपमन्त्री झाओले कम्युनिष्ट एकताको पक्षमा आफूहरु रहेको बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा विस्तृत छलफल गरेका हुन् । सो क्रममा उपमन्त्री झाओले नेपालको समसामयिक राजनीति, वामपन्थीबीचको सहकार्य र एकताका विषयमा चासो राखेका थिए ।
‘उहाँहरुले माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो’, नेता पुनको सचिवालयले उल्लेख गरेको छ, ‘नेपालको समसामयीक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो ।’
चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए ।
वंशाणुगत तथा विश्वमा वीरलै देखिने जण्डिस रोगका कारण झण्डै तीन महिनादेखि उपचार गराइरहेका नेता पुन माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत छन् । उपचारका लागि केही परिक्षण थाती राखेर अधिवेशन उद्घाटन अघि नै नेपाल आउन चाहेका नेता पुन अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समयसमेत तय भएकाले अनुपस्थित भएका हुन् ।
नेकपा जोगाउले प्लान असफल
चीनले यसअघि माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोगाउन गरेको अन्तिम कसरत निरर्थक बनिसकेको छ । नेपालको राजनीतिक मामलामा प्रायः मुख नखोल्ने चीनले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकतालाई निकै उत्साहका रुपमा लिएको थियो ।
तत्कालिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो । चीनले तत्काल पार्टी फुट्न नहुने र मिल्न सक्ने छ भने मिलेर जाने कुरामा मध्यमार्गी उपायका साथ एकतामा जोड दिएपनि अन्ततः नेकपा विभाजन भइसकेकाे छ ।
नेकपालाई विभाजनबाट रोक्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्वको प्रतिनिधि मण्डल नेपालसमेत आएको थियो । साथै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कम्युनिष्ट पार्टलाई विभाजनबाट रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
तर, कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको हठका कारण झण्डै दुई तिहाई नेतृत्वको कम्युनिष्ट पार्टी सरकार बर्हिगमित भएको छ । साथै माओवादी केन्द्र र नेकपा एमाले पूर्ववतः अवस्थामा फर्किसकेका छन् । पार्टीभित्रको आन्तरिक कलहका कारण नेकपा एमालेसमेत विभाजन भयो । माधव नेपालले एमाले विभाजन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिसकेका छन् । तर, पनि चीनले अझै पनि नेपालका कम्युनिष्ट घटकहरुलाई एक ठाँउमा ल्याउने कोशिस जारी राखेको छ ।
चिनियाँ राजदूत यान्छी अहिले फेरि नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक बनाउन सक्रिय छन् । उनले केही दिन अगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै कम्युनिष्ट एकता आफूहरुको चाहना भएको बताएकी थिइन् । साथै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका कम्युनिष्ट नेताहरुसँगको भेटलाई तिव्रता दिइरहेकी छन् । चीन कुनै हिसाबले नेपालका कम्युनिष्ट पार्टी नफुटुन भन्ने चाहन्छ ।