चीनमा कोरोना नियन्त्रणमा: मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

चीनमा कोरोना नियन्त्रणमा: मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो



काठमाडौं- नेशनल हेल्थ कमिशनका अनुसार चीनमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।

चीनको नेशनल हेल्थ कमिशनले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको पाइएको हो ।

चीनले कोरोना भाइरसबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि दैनिक मृत्यु हुनेको संख्या शून्यमा आएको यो पहिलोपटक हो ।

चीनले यो भाइरस निस्किएको सहर वुहानमा लगाइएको भ्रमणको प्रतिबन्ध हटाउने तयारी गरिरहेको अवस्थामा चीनमा भाइरसबाट दैनिकरुपमा मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।

बुधबारदेखि वुहानको लकडाउन पूर्णरुपमा खुल्नेछ । यो सहर भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको सहर हो ।

मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा ३२ नयाँ संक्रमित फेला परेका छन् । अहिले फेला परेका सबै संक्रमित बाहिरबाट आएका मानिसहरु हुन् । यससँगै चीनमा समग्र संक्रमितको संख्या ८१ हजार सात सय ४० पुगेका छन् ।

त्यसमध्ये ७७ हजार एक सय ६७ जना निको भइसकेका छन् भने तीन हजार तीन सय ३१ जनाको मृत्यु भएको छ । अहिले चीनमा एक हजार दुई सय ४२ जना कोरोना भाइरसका बिरामी बाँकी छन् । जसमध्ये दुई सय ११ जनाको अवस्था गम्भीर छ ।

हेल्थ कमिशनकाअनुसार एक दिनमा ३० जना लक्षण नदेखिएका संक्रमित पनि फेला परेका छन् ।

यससँगै चीनमा लक्षण नदेखिएका बिरामीको संख्या पनि एक हजार ३३ पुगेको छ । यसमध्ये करिब एक चौथाइ विदेशबाट आएका मानिस छन् ।