चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति



काठमाडौँ– सरकारले उत्तरी छिमेकी चीनसँगको सीमा विवाद अध्ययनका लागि अध्ययन समिति गठन गरेको छ । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले अध्ययन समिति गठन गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गरिएको छ ।

यसअघि चीनले हुम्लाको नाम्खा गाउँपालिकामा नेपाली भूमि मिचेको सार्वजनिक भएको थियो । तर, तत्कालिन ओली सरकार र चीन दुबैले चीनसँग कुनै सीमा विवाद नरहेको बताएका थिए । तर, तत्कालिन प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अध्ययन समिति गठन गरी सीमा मिचिएको प्रतिवेदन तयार पारेको थियो ।

कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता तथा हुम्लाका स्थानीयवासी जीवनबहादुर शाही नेतृत्वको समितिले सीमा क्षेत्रको अवलोकन गरी भूमि मिचिएको प्रतिवेदन पार्टीमा पेश गरेको थियो ।

त्यतिबेला सुरुमा पिल्लर नम्बर ८७ हराएको बताइएको थियो भने पछि सो पिल्लर भेटिएको थियो । सो पिल्लर नयाँ बनेको अवस्थामा फेला परेको भन्दै शाही नेनृत्वको समितिले प्रश्न उठाएको थियो । कांग्रेसले सीमा मिचिएको प्रतिवेदन बनाएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले कांग्रेसको नाम लिएर आपत्ति प्रकट गरेको थियो ।

अहिले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सो विवादबारे अध्ययन गर्न समिति बनाएको हो ।