चीनले भन्यो: अमेरिकाले नेपाललाई दबाउन खोजे हामी प्रतिरोध गर्छौँ - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

चीनले भन्यो: अमेरिकाले नेपाललाई दबाउन खोजे हामी प्रतिरोध गर्छौँ



बेइजिङ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नेपालमा संयुक्त राज्य अमेरिकाले ‘दबाबकारी कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन्।

आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वेनविनले २८ फेब्रुअरी (१६ फागुन)सम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’पारित गर्ने समयसीमा तोकेर ‘दबाबकारी कूटनीति’ सञ्चालन गरेको उल्लेख गरे।

पत्रकार सम्मेलनमा एकजना पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिख भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो।

हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसी कार्यक्रमबारे मतैक्यता हुन नसकेका कारण आन्दोलन पनि चर्किरहेको छ। नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चीनले भनेको छ।

परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए। उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिए।

“नेपालको आर्थिक विकास र जनजीवनको सुधारका लागि अन्तर्राष्ट्रिय समुदायले गर्ने सहकार्यलाई चीन स्वागत गर्दछ”, उनले भने, “तर यो कुनै राजनीतिक शर्तबिना नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ।”