फुटेको नेकपा जुटाउने चिनियाँ टोलीको प्लान: कसरी हुँदैछ काम ? - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

फुटेको नेकपा जुटाउने चिनियाँ टोलीको प्लान: कसरी हुँदैछ काम ?



काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजन भएको एक सातामा चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ।

नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आएको टोलीले राजनीतिक र संवैधानिक अन्योलबीच नेपालमा भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो राखेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सद्भाव सन्देश बोकेर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइपुगेको छ । टोली नेकपाको एकताको सम्भावनाबारे पनि खोजी गर्ने ‘म्यान्डेट’ लिएर आएको छ।

‘अढाई वर्षअघि नेपालका दुई कम्युनिस्ट पार्टी एकीकृत भएपछि उत्साही भएको चीन गत साता भएको संसद् विघटन र नेकपा विभाजनबाट चिन्तित छ, यही बिन्दुबाट नेपालमा अस्थिरता र अन्योल सुरु हुने र विदेशीको प्रभाव बढ्ने हो कि भनेर चीन चिन्तित छ,’ चिनियाँ दूतावासनिकट स्रोतले भन्यो, ‘चीनको सद्भाव, चासो व्यक्त गर्ने मात्र होइन, नेकपालाई फेरि जुटाउन पहल गर्ने उद्देश्यले टोली नेपाल आएको हो।’

टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई भेटेको छ । ‘नेपालमा राजनीतिक स्थायित्व, समृद्धि, विकास, निर्णय प्रक्रियामा बाह्य मुलुकको अहस्तक्षेप होस् भन्ने हामी चाहन्छौँ, चीन आफ्नो सामथ्र्यले भ्याएसम्म विकास प्रक्रियामा र कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने विषयमा सहकार्य गर्न प्रतिबद्ध छ,’ राष्ट्रपति भण्डारीलाई चिनियाँ टोलीले आफ्ना राष्ट्रपति सीको सन्देश सुनाएको छ।

विकसित पछिल्लो घटनाक्रमले नेपाल अस्थिर हुने अरू कसैको दबाब वा प्रभावमा पर्ने हो हो कि भन्नेमा बेइजिङको चासो छ।

‘सरकार मात्र होइन, राजनीतिक रूपमै नेपालमा अस्थिरता हुने हो कि भन्ने चिन्ता छ । र, यही अस्थिरताको जगमा नेपाली भूमिलाई बाहिरी शक्तिले प्रयोग गर्छन् कि भन्ने मूल चिन्ता छ,’ चिनियाँ दूतावासनजिक स्रोतले भन्यो, ‘वैदेशिक चलखेल हुन सक्छ र चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन सक्छ भन्नेमा बेइजिङ सजग छ।’

अहिलेको अवस्था थप तरल हुँदै गएर नेपालमा ‘इन्डो–अमेरिकन’ प्रभाव बढ्न सक्ने बेइजिङको आशंका छ । ‘यो भ्रमण अलिकति संवेदनशील समयमा भएको छ, भेटवार्ताहरूमा राजदूत मात्रै जाने कार्यक्रम छ, अरू कूटनीतिक अधिकारीहरूलाई सामेल गराइएको छैन,’ चिनियाँ कूटनीतिक स्रोतले भन्यो, ‘नेकपाका दुवै पक्ष र प्रतिपक्षी दलहरूसँग छलफल हुन्छ।’

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले पछिल्लो कदमले नेपालको राजनीतिक स्थायित्वमा नकारात्मक असर नपर्ने बताएकी छिन् । ‘मुलुकमा निर्वाचन घोषणा भएको छ, राजनीतिक दलहरूले निर्वाचनमा गएर ताजा जनादेश प्राप्त गर्नेछन्, त्यसले नेपालको स्थायित्व र विकासमा थप योगदान पु¥याउँछ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो।

राष्ट्रपति भण्डारीले नेपालमा चीनविरोधी गतिविधि हुन नदिने भन्दै चिनियाँ टोलीलाई आश्वस्त पारेकी छिन् । चिनियाँ पक्षले नेकपाको पुनः एकीकरणको सम्भावनाबारे चासो राखेको थियो।

‘तपाईंहरूबीच अब एकताको सम्भावना छ कि छैन भन्ने चीनको प्रश्न छ,’ हालै चिनियाँ दूतावासका अधिकारीलाई भेटेका नेकपाका एक नेताले भने, ‘मुख्य विषय सत्तारुढ दल विभाजन भएकाले नेपालको आत्मनिर्णयको हैसियत तलमाथि हुन्छ कि भन्ने बेइजिङको चिन्ता छ । त्यस्तो अवस्थामा नेपाल र चीन दुवैलाई क्षति हुनेछ भन्ने उहाँको मूल्यांकन छ।’

राष्ट्रपति भण्डारीले नेकपालाई फुट्न नदिन आफूले धेरै मिहिनेत गरेको बताएकी छिन् । फेरि पनि जुटाउन आफ्नो पनि प्रयास जारी रहेको उनको भनाइ छ । चिनियाँ टोलीले सोमबार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग बेग्लाबेग्लै भेटवार्ता गर्दै छ।