तातोपानी भन्सार पुनःनिर्माणका लागि चीनको सहयोग
काठमाडौँ । चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यू होङले हस्ताक्षर गरे ।
नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोगअन्तर्गत बिहिवार तातोपानी भन्सार नाका, सिन्धुपाल्चोक अस्पताल र सिन्धुपाल्चोककै जिरी माध्यमिक विद्यालयको पुनःनिर्माण सम्झौतामा हस्ताक्षर भएको छ ।
हस्ताक्षरपछि अर्थसचिव अधिकारीले भूकम्पपछिको पुनःनिर्माणमा चीनले गरेको सहयोगको सराहना गर्दै सहयोग निरन्तरताका लागि आग्रह गरे। चिनियाँ राजदूत यूले हस्ताक्षर भएका सम्झौतामा हुने सहयोगका बारेमा अवगत गराए ।
तातोपानी भन्सार नाका पुनःनिर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गरिनेछ । यो सम्झौताअन्तर्गत पुनःनिर्माणको काम अघि बढेमा एक वर्षभित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ । काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबीच सम्झौता भई काम शुरु भइसकेको छ ।
सिन्धुपाल्चोक अस्पताल पुनःनिर्माणअन्तर्गत अत्यावश्यक स्वास्थ्य उपकरणसहितको ३९ शय्या स्थापना गरिनेछ । त्यस्तै जिरी स्कूलको पुनःनिर्माणअन्तर्गत कक्षाकोठा, पुस्तकालय, शिक्षक कार्यालय, खाजाघर, खेलकूद मैदानलगायत विद्यालय पूर्वाधार निर्माण गरिनेछ ।