चीनले बनाएको भनिएको खोप कस्तो हो ? यस्तो छ नालीबेली - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

चीनले बनाएको भनिएको खोप कस्तो हो ? यस्तो छ नालीबेली



काठमाडौं- पछिल्लो समय चीनले कोरोनाविरुद्धको खोपमा सफलता पाएको बताइएको छ । तर धेरैजसो मिडियाले भ्रमपूर्ण खबर सम्प्रेषण गरेपछि जनमानसमा थप भ्रम पैदा भैरहेको छ । हाल संसारभर कोरोनाको अध्ययन र अनुसन्धान भैरहेका छन् ।

खासगेरी ठुला र सम्पन्न देशका लागि ठुलो चुनौती बनेको कोभिड-१९ को महामारी नियन्त्रण गर्न संसारभर विभिन्न अध्ययन र प्रयोग भइरहेका छन् । तीमध्येको हो, चीनमा भइरहेको भ्याक्सिन बनाउने प्रयास । सुरुवाती परीक्षणमा यो भ्याक्सिन प्रभावकारी देखिएको वैज्ञानिकहरूको दाबी छ ।

मेडिकल जर्नल ‘लान्सेट’मा प्रकाशित शोधअनुसार १८ देखि ६० वर्षसम्मका एक सय आठजनामा गरिएको परीक्षणमा खोपको एक डोजले दुई साताभित्र ‘टी सेल्स’ भनिने प्रतिरक्षा कोषहरू उत्पादन भएको पाइएको छ ।

तर, यो प्रारम्भिक परीक्षण मात्र भएको वैज्ञानिकहरूले बताएका छन् । यो खोप कोरोना भाइरसविरुद्ध उपयोगी भएको प्रमाणित हुन अझै धेरै परीक्षण आवश्यक भएको उनीहरू बताउँछन् ।

यो खोप तयार पार्न वैज्ञानिकहरूले ‘एड–५’ (एडेनोभाइरस–५) को प्रयोग गरेका छन् । यो भाइरसलाई शरीरमा प्रवेश गराएपछि मानव कोषले कोरोना भाइरसविरुद्ध प्रोटिन बनाउन थाल्छ । र, त्यसबाट शरीरमा कोरोना भाइरसविरोधी प्रतिरक्षा प्रणाली विकास हुन्छ ।

तर, ४५ देखि ६० वर्षका व्यक्तिहरूमा कमजोर प्रकारको प्रतिरक्षा प्रणाली विकास भएको पाइएकाले कतिपय वैज्ञानिकले यो प्रयोग पनि सफल नहुने आशंका व्यक्त गरेका छन् । त्यसभन्दा माथिको उमेर समूहमा अझ कमजोर प्रतिरक्षा प्रणाली बन्ने उनीहरूको मत छ ।

यो भ्याक्सिनको प्रभाव कतिन्जेल रहन्छ भन्ने पनि पुष्टि भएको छैन । अनुसन्धानकर्मीहरूले प्रयोग गरेका तीनमध्ये माथिल्लो डोज बढी प्रभावकारी देखिएको छ ।

परीक्षण गरिएका व्यक्तिमा ज्वरो आउने, थकान महसुस हुने, टाउको र मांसपेसी दुख्नेलगायत साइड इफेक्ट पनि देखिएका छन् ।