चीन र भारतबीच सीमामा थप खतरा, चिनियाँ सेनाको यस्तो तयारी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

चीन र भारतबीच सीमामा थप खतरा, चिनियाँ सेनाको यस्तो तयारी



काठमाडौं- भारतसँग लद्दाखको सीमाक्षेत्रमा तनाव बढिरहेका बेला चिनियाँ सेनाले तिब्बतको उच्च भूभागमा सैन्य अभ्यास गरिरहेको खुलाएको छ।

लद्दाखको गलवान घाँटीमा सोमबार भारतीय सेनासँग भएको हिं’सात्मक झडपमा २० जना भारतीय सैनिक मारिए लगत्तै तिब्बतको उच्च पहाडी क्षेत्रमा अत्याधुनिक हातहतियारसहित सैन्य अभ्यास भइरहेको चिनियाँ सेनाले मंगलबार सार्वजनिक गरेको हो।

पीएलएको तिब्बत सैन्य कमाण्डलाई उधृत गर्दै चाइनान्यूजले जनाए अनुसार लामो दुरीको आर्टिलरी, जमिनबाट प्रहार गर्ने मिसाइल, विशेष अप्रेसन फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रोनिक काउन्टरमर्स फोर्स, इन्जिनियरिङ तथा एन्टी केमिकल वारफेयर फोर्ससहित ४,७०० मिटर उचाइमा रहेको पहाडमा संयुक्त सैन्य अभ्यास भएको हो।

पीएलएले ‘उच्च भूभागबाट लडिने लडाइँ र शत्रुको केन्द्रमा प्रहार गर्ने तरिकाको अभ्यास गरेको’ जनाएको छ। पीएलएले सार्वजनिक गरेको रिपोर्टमा १५ लाइटवेट ट्यांकसहित चीनका अत्याधुनिक हतियार प्रयोग भएको देखिन्छ।

सैन्य अभ्यासमा सहभागी पीएलएका ब्रिगेड कमाण्डर झाङलाई उधृत गर्दै ग्लोबल टाइम्सले यो उच्च भूभाग र आकाशबाट हुने बहुआयामिक युद्ध अभ्यास रहेको जनाएको छ।

सोमबार राती गलवान घाँटीमा भएको भिडन्तमा एक जना कर्नेलसहित २० जना भारतीय सैनिक मारिएको र चीनतर्फ पनि हताहती भएको भारतीय सेनाले जनाएको थियो। चिनियाँ पक्षले भने आफ्नोतर्फ भएको क्षतिको पुष्टि गरेको छैन।

सामेबारको झडपसँगै भारतीय र चिनियाँ सैनिक गलवान क्षेत्रबाट पछि हटेपनि थप भिडन्त हुनसक्ने बताइएको छ।