अमेरिकी कूटनीतिज्ञले चीन छाडे, बन्द भयो दूतावास - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अमेरिकी कूटनीतिज्ञले चीन छाडे, बन्द भयो दूतावास



काठमाडौं- चीनको चेतावनीपछि चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासका कर्मचारीले आजदेखि चीन छाडेका छन्।

सोमबार बिहानसम्म वाणिज्य दूतावास बन्द गर्नुपर्ने समयसीमा चीनले अमेरिकालाई दिएको थियो। समयसीमाभन्दा केही घण्टाअघि अमेरिकी कर्मचारीले कार्यालय छाडेका हुन्। उनीहरु सरसामान लिएर कार्यालयबाट बाहिरिएका छन्।

अमेरिकी कर्मचारीले कार्यालय छाडेसँगै वाणिज्य दूतावास बन्द भएको बिबिसीले जनाएको छ। दुवै मुलुकले वाणिज्य दूतावासमार्फत एक-अर्काविरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी कूटनीतिज्ञले कार्यालय छाड्दा वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेका थियो। धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकेका थिए भने कतिपयले सेल्फी लिइरहेका देखिन्थे।

अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न ७२ घण्टे समयसिमा दिएको थियो।

अमेरिकी वाणिज्य दूतावासबाट लरीहरू बाहिरिएका छन्। कर्मचारीले कूटनीतिक चिन्ह हटाएका छन्। वाणिज्य दूतावास भवनबाहिर दर्जनौँ चिनियाँ प्रहरी खटिएका छन्।