चीनले दियो भारतीय सेनालाई कडा चेतावनी - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

चीनले दियो भारतीय सेनालाई कडा चेतावनी



काठमाडौं- भारत-चीन सीमा समस्या अर्को चरणमा प्रवेश गरेको छ। गलवान भ्यालीमा भारतीय सेनाहरु सीमा पार गरेर चिनियाँ क्षेत्रमा प्रवेश गर्दै अवैध गतिविधि गरेको र चिनियाँ सैनिकमाथि आक्रमण गरेपछि चिनियाँ सैनिकले प्रतिकार गरेको जनाइएको छ ।

भारतले चिनियाँ सेनासँगको झडपमा परी आफ्ना तीन सैनिकको मृत्यु भएको जनाएको छ । भारतले सोमबार राति आफ्ना सैनिक पछि हट्‍ने क्रममा चिनियाँ सेनाले आक्रमण गरेको जनाएको छ ।

तर, चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता जाओ लिजियानले भारत-चीनबीच सीमा समस्या समाधानका लागि कूटनीतिक र सैन्य संयन्त्रमार्फत् संवाद भइरहेका बेला भारतीय सेनाले दुई मुलुकका सैन्य कमान्डरबीच भएको समझदारीलाई उल्लंघन गरेको भन्दै आलोचना गरेको चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

उनले भने, “भारतीय सेनाले सोमबार दुई पटकसम्म सीमा पार गर्नुका साथै चिनियाँ सैनिकहरुमाथि उत्तेजनात्मक आक्रमण गरेका कारण भौतिक मुठभेड भएको हो ।”

उनले भारतीय सेनालाई सीमारेखा पार नगर्न, एकतर्फी गतिविधि सञ्‍चालन नगर्न तथा यसअघिको समझदारी उल्लंघन नगर्न चेतावनी दिएको ग्लोबल टाइम्समा उल्लेख छ ।

तर, समाचार एजेन्सी रोयटर्सले सीमा क्षेत्रमा सोमबार कुनै मुठभेड भएको बारेमा आफूलाई जानकारी नभएको बताएको उल्लेख गरेको छ ।

भारतीय सेनाको मुख्यालयले दिएको जानकारी अनुसार अहिले दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरु यो विषयको विवाद सुल्झाउनका लागि घटनास्थलमा बैठक गरिरहेको बीबीसीले जनाएको छ ।

गलवान भ्याली भारत-चीनको लद्दाख सीमा रेखाअन्तर्गतको क्षेत्र हो । पछिल्ला दिनमा यस क्षेत्रमा चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको विषयमा दुई देशबीच तनाव उत्पन्न भएको छ ।

यसअघि ६ जुन २०२० मा भारत-चीनका वरिष्ठ सैन्य अधिकारीबीच भएको वार्तमा कूटनीतिक र सैन्य संयन्त्रामार्फत् समस्या समाधानका लागि वार्ता जारी राख्‍ने सहमति दुवै देशका विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।