चीनविरुद्ध जनकपुरमा युवाहरूले गरे प्रदर्शन

जनकपुर- जनकपुरमा युवाहरुले चीनले सीमा मिचेको भन्दै प्रदर्शन गरेका छन् । हुम्लामा चिनले नेपाली भूमी मिचेको भन्दै उनीहरू सडकमा आन्दोलित भएका हुन् ।
चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि जनकपुरमा युवा नेपाल समिति प्रदेश नम्बर २ ले विरोध प्रदर्शन गरेको हो ।
युवा नेपाल समिति प्रदेश २ का संयोजक मोहन सिंहको नेतृत्वमा प्रदर्शनमा सहभागीहरुले चिन विरुद्ध नारावाजी गर्दै ब्याक अफ चाइना, चिनियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमी फिर्ता गर, पुरानो सन्धी लागु गर, चाईनिज साम्राज्यवाद मुर्दावाद, केपी ओली मुर्दावाद, लगायतका नारा लगाएका थिए ।
युवाहरुको समूहले चिनिया अतिक्रमण बिरुद्ध निकालेको बिरोध -याली जनकपुरधामको रामानन्द चोकबाट सुरु भई जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले चिनिया अतिक्रमण बिरुद्ध नेपाल सरकार समेत मौन रहेको समयमा चिनिया साम्राज्यवाद बिरुद्ध आफूहरु बिरोध प्रदर्शन गर्न बाध्य हुनु परेको बताए ।
युवा गुड्डु पाण्डेले नेपाली भूमिको अतिक्रमण आफूहरुका लागि सह्य नरहेको बताए । उनले भारत तर्फबाट होस वा चिन तर्फबाट नेपाली भूमिको अतिक्रमण बिरुद्ध आवाज उठाउन आफै सदैव तयार रहेको बताए । त्यस्तै, अर्का युवा सुशिल कर्णले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञयता प्रकट गर्नु लज्जास्पद रहेको बताए ।
कोणसभामा युवा नेताहरु अजय साह, आशुतोष झा नवीन सहितकाले समेत चिनिया अतिक्रमण विरुद्ध आ आफ्नो धारणा राखेका थिए ।

