चीनले भन्यो: नेपाल सरकार उक्साहटमा लाग्यो, सीमा विवाद छैन
काठमाडौं- चीनले नेपालसँग कुनैपनि सीमा विवाद नभएको बताएको छ । पछिल्लो समय चीनसँग सीमा विवाद रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले छानबिन समिति नै बनाएपछि चीनले यस्तो बताएको हो चीनले नेपालसँगको सीमालाई लिएर कुनै विवाद नरहेको बताएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालसँग कुनैपनि सीमासम्बन्धि विवाद नभएको बताएको हो । दूतावासका प्रवक्ताद्वारा सुक्रबार साँझ जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण चीनले नगरेको बताइएको छ ।
विज्ञप्तिमा जनाइए अनुसार सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको र त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद नभएको जनाइएको छ ।
चीनले दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको बताउंदै सीमा विवादबारे सराकार केहि व्यक्तिको उक्साहटमा लागेको विज्ञप्तिमा उल्लेख छ । चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दा लगायतका विषय सामाधान गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दूतावासले केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवादको निम्त्याउने प्रयास गरेको बताएको छ । चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरणलाई बुझ्न समेत ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको समेत जनाइएको छ । दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क संजाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ ।