अन्तत: अमेरिकाले चीनसँग सहयोग लिने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अन्तत: अमेरिकाले चीनसँग सहयोग लिने



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कोरोना संक्रमणका कारण सिर्जित संकट सामना गर्नेबारे फोनवार्ता भएको छ।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जी–२० को भिडियोमार्फत् गरिएको शीर्ष बैठकपछि सो कुराकानी भएको हो।

सो भिडियो कन्फ्रेन्समा सीले एकता र ऐक्यबद्धताका लागि आग्रह गर्नुका साथै तीनवटा मुख्य सन्देश दिएको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ।

‘यो भाइरस रोक्नका लागि अन्तर्राष्ट्रिय प्रयासहरुलाई सशक्त बनाउने, आर्थिक क्षेत्र ओरालो लागेका बेला अर्थतन्त्रलाई टेको लगाउने, र घुमाउरो ढंगले अमेरिकाले चीनसँगको दुष्मनी कदम कम गर्न आह्वान गरिएको छ,’ साउथ चाइना मर्निङ पोष्टले लेखेको छ।

‘यो भाइरसको कुनै भौगोलिक सीमाना छैन र यो महामारी हाम्रो साझा दुष्मन हो। यतिबेला यसको रोकथामका लागि सबै देशले सहकार्यका हात फैलाउनुपर्छ,’ सीले भनेका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सीसँग निकै राम्रो कुराकानी भएको बताएका छन्।

‘यो ग्रहको ठूलो हिस्सालाई ध्वस्त पारिरहेको कोरोना भाइरसबारे वृहतरुपमा छलफल भयो,’ उनले ट्विटरमा लेखेका छन्, ‘चीनले यो भाइरसबारे निकै बलियो जानकारी विकास गरेको छ। हामी सँगै काम गरिरहेका छौं। धेरै सम्मान छ।’

यसअघि कोरोना (कोभिड–१९) भाइरसलाई पटकपटक चिनियाँ भाइरस भनी नामांकरण गरेर विवाद सिर्जना गरिरहेका ट्रम्पले यसपटक भने कोरोना भाइरस नै भनेका छन्।