चीनमा कोरोना सङ्क्रमित अब एक हजार जना मात्रै - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

चीनमा कोरोना सङ्क्रमित अब एक हजार जना मात्रै



काठमाडौं- चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको यो महामारी अहिले विश्वका दुई सय १० देशमा फैलिसकेको छ ।

हालसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख पुघेको छ भने मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । हालसम्म कोरोना संक्रमितमध्ये विश्वभर ३ लाख ७६ हजारभन्दा बढी निको भइसकेका छन् ।

यसरी निको हुनेको संख्या कोरोनाको उद्गमस्थल चीनमा नै धेरै रहेको छ । त्यहाँ कुल संक्रमित ८१९६३ हजार रहेकोमा ७७ हजार ५२५ जना पूर्ण रूपले निको भइसकेका छन् । बाँकी १ हजार ८९ मात्रै अहिले कोरोना सक्रिय रहेको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

चीनमा अहिलेसम्म ३ हजार ३३९ को ज्यान गइसकेको छ । यसरी हेर्दा चीनमा कोरोना संक्रमणबाट ३ हजारको ज्यान जाँदा ७७ हजार भने निको हुनु सुखद पक्ष हो ।

अहिले कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन पनि हटिएकाे छ । लकडाउन खाेलेसँगै बुधबारबाट वुहानका सडक खुला भएका छन् ।हवाई उडान पुनः सञ्चालनमा आएका छन् । रेल सेवा सुरु भएको छ । मानिसहरु चीनको अन्य भागमा जान पाएका छन् ।

चीनले कसरी जित्याे काेराेना ?

भाइरसको क्षेत्र बढेसँगै चीनले यसको महामारीलाई बुझ्यो र यसलाई नियन्त्रण गर्नतर्फ लाग्यो । चीनले वुहानमा संक्रमण देख्नासाथ कडा लकडाउन गरी उच्च सतर्कता अपनायो । एउटा सहर नै सिलबन्दी गरेकाे थियाे । जनवरी २३ मा चीनले वुहानमा लकडाउन गर्दा बाँकी विश्व समुदायले मानवअधिकारको मुद्दा पनि उठाएका थिए ।

महामारी फैलिएपछि चीनका राष्ट्रपति सी चिनफिङले यसविरुद्ध ‘जनयुद्ध’ नै घोषणा गरेका थिए । प्रधानमन्त्री ली खछियाङको नेतृत्वमा काेराेनाविरुद्ध लड्ने समिति बनाएर चीनले युद्ध स्तरमा काम थालेको थियो ।

वुहानबाट बाहिर जान र अन्य क्षेत्रबाट भित्र पस्नका लागि प्रतिबन्ध लगायो । कोराेना उपचार गर्न अस्थायी अस्पतालहरु रातारात बनाइयाे । साथै मानिसलाई घरबाट बाहिर निक्लन समेत प्रतिबन्ध लगाइयो ।

सबै मानिसलाई उनीहरूको रेकर्डअनुसार रातो, पहेँलो र हरियो रंगको कोड दिइयो । यसै कोडका आधारमा मानिसको उपचार सुरु गरिएको थियो । बिरामीको उपचारका लागि वुहानमा उपचार गर्न ८६ अस्पताल तोकिएको थियो ।

चीनमा काेराेनाविरूद्ध सचेतना सन्देश पनि तीव्र रुपमा फैलायो । ‘मास्क लगाउनुस्, साबुनपानीले हात धुनुस्, भीडमा नजानुस्, सेल्फ आइसोलेसनमा बस्नुस्’ भनेर चीनले एकदमै छिटाे सन्देश फैलायो । चीनकाे नेतृत्व क्षमता अनि जनताकाे विश्वासका कारणा याे सबै सम्भव भयाे ।

त्यसपछि चीनले राज्य राजमार्गका साथै काउन्टी र टाउनसिप सडकलाई पूरै बन्द गरिदियो । देशका १२ हजारभन्दा बढी राजमार्ग भाइरस प्रभावित क्षेत्रबाट पृथक गरियो । चीनको २८ प्रान्तमा अन्तर–प्रान्तीय सडकयात्री परिवहन र २ सयभन्दा बढी सहरमा सार्वजनिक परिवहन बन्द गरियाे ।

चीनले भाइरसविरुद्ध लड्न आर्थिक अभाव हुन दिएको थिएन । यतिबेला भाइरसविरुद्ध लड्न आर्थिक कन्जुस्याइँ गरियो भने मोर्चा जित्न कठिन हुनेछ भन्ने उसले बुझेकाे थियाे ।

चीनले मूल्यवृद्धि नियन्त्रण र कारबाही तीव्र पारेको थियो । यी सबै प्रयासका कारण चीन महामारी नियन्त्रणमा सफल भयाे र अहिले बाँकी विश्वका लागि प्रेरणा स्राेत बनेकाे छ ।