चीनको आरोप: अमेरिकाको कदम अनैतिक - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

चीनको आरोप: अमेरिकाको कदम अनैतिक



एजेन्सी- चीनले कोरोना भाइरसविरुद्ध लडिरहँदा अमेरिका अनैतिक ढंगले प्रस्तुत भएको आरोप लगाएको छ । उसले अमेरिकाको चीनप्रतिको पछिल्लो कदम सँसारभरकै लागि खराब उदाहरण बनेको समेत उल्लेख गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक हुने गरेको ग्लोबल टाइम्सको सम्पादकीयमा अमेरिकाले चीनबाट यात्रा गर्नेहरुलाई दुई हप्ताका लागि अमेरिका प्रवेश रोक लगाएको उल्लेख गर्दै त्यसलाई अनैतिक भनेको हो ।

चीनले कोरोना भाइरसविरुद्ध लड्दा विश्व स्वास्थ्य संगठनबाट समेत प्रशंशा पाइरहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चीनको सावधानीका कारण चीनबाहिर हालसम्म एकजना मात्र मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको र डेढ सय मात्र संक्रमित भएको भनेको छ । उसले यसलाई चीनको सावधानीका कारण धेरै फैलन नपाएको तर्क गरेको छ ।

सन् २००९ मा अमेरिका एच वान एन वान भाइरसको उत्पत्ति स्थल भएको उल्लेख गर्दै त्यसबाट सँसारभर दुई लाख ८४ हजार मानिसको ज्यान गएको तथ्यांक प्रस्तुत गर्दै अमेरिकाले रोगविरुद्ध प्रभावकारी नियन्त्रण उपाय अबलम्बन गर्न नसकेको भनेको छ ।

कोरोनाभाइरसभन्दा घातक रोग अमेरिकामा उत्पत्ति भएको तथ्य प्रस्तुत गर्दै चीन त्यतिबेला अहिले अमेरिका प्रस्तुत भएजसरी प्रस्तुत नभएको उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट चीन संकटमा पर्दा अमेरिकी वाणिज्यमन्त्री विलबर रोजले गत बिहिबार अमेरिकामा अब रोजगार सृजना हुने भनी दिएको अभिव्यक्तिको समेत आलोचना गरेको छ । यसलाई अनैतिक भनेको छ । ग्लोबल टाइम्सले लेखेको छ -अमेरिकाले आफूलाई महान बनाउने तरिका यही हो ?

चीनले विगतमा सारस भाइरसविरुद्ध समेत लडेको उदाहरण प्रस्तुत गर्दै कोरोना भाइरसविरुद्ध लडेर झन् मजबुत हुने ग्लोबल टाइम्सले लेखेको छ । उसले अप्ठ्यारोमा परेका चिनियाँ जनताको भावनामाथि ठेस नपुर्याउन समेत चेतावनी दिएको छ ।