कोरोना खोप सम्पन्न गरेको चिलीमा संक्रमण फेरि नियन्त्रण बाहिर: लकडाउन घोषणा
काठमाडौं- खोप कार्यक्रम सम्पन्न भएको चिलीमा कोरोना संक्रमण अनियन्त्रित रुपमा बढेको छ । संक्रमण अनियन्त्रित बनेपछि त्यहाँ पुनः लकडाउन गरिएको छ ।
चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिसले महामारी शुरु भएयताकै सबैभन्दा बढी संक्रमण भएको भन्दै पुनःकडा लकडाउनमा जानुपर्ने अवस्था आएको बताएका छन् ।
चिलीमा अप्रिल ९ मा एकै दिनमा ९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । यो संख्या अहिलेसम्मकै उच्च हो । गत वर्ष मध्य जुनमा संक्रमण उच्च भएका बेला पनि दैनिक संक्रमण ७ हजारभन्दा कम थियो ।
चिलीका अस्पतालका सघन उपचार कक्षहरु कोरोनाका विरामीले भरिएका छन् । संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले लकडाउन गरेर त्यहाँ बसोबास गर्ने १ करोड ८० लाख नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
नागरिकको जीवन रक्षाका लागि असहज भएपनि लकडाउनमै जानुपर्ने अवस्था आएको बताइएको छ । चिली विश्वमै कोरोना विरुद्धको खोप कार्यक्रम छिटो सम्पन्न गर्ने मुलुक हो ।