सर्वदलीय बैठक सकिएलगत्तै गठबन्धनका नेताहरू छुट्टै छलफलमा
काठमाडौं । सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक लगत्तै उनीसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुखसहितका शीर्ष नेताहरूको छलफल सुरु भएको हो ।
आजको सर्वददलीय बैठकमा समसामयिक विषयमा छलफल भएको राप्रपाका नेता दीपक बोहोराले जानकारी दिए । सर्वोच्चले गर्ने निर्णयलाई आफ्नो पार्टीले सम्मान गर्ने पनि उनले बताए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइए पनि उनी सहभागी भएनन् ।
आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, राप्रपाका बोहरा, नेमकिपाबाट प्रेम सुवाललगायतका नेताहरू सहभागी थिए ।