छोरी जन्माउने दम्पतीलाई भत्ता दिने - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

छोरी जन्माउने दम्पतीलाई भत्ता दिने



विराटनगर महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने दम्पतीलाई जनही तीन हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गर्न थालेको छ ।

लिंग पहिचान गरेर छोरीको भ्रूण हत्या गर्नेक्रम बढ्दै गएपछि महानगरले पहिलो सन्तान छोरी जन्माउने दम्पतीलाई प्रोत्साहन रकम दिन थालेको हो ।

पहिलो सन्तान छोरी जन्माउने १४ जोडी दम्पतीलाई बुधबार महानगरपालिकाले पहिलोपटक जनही नगद तीन हजार रुपैयाँ प्रदान गरेको छ । महानगरपालिकाले घोषणा गरेको नीति कार्यक्रमलाई कार्यान्वयन गर्न छोरी जन्माउने आमालाई नगद पुरस्कार दिएर प्रोत्साहन गर्न थालिएको महानगरकी उपमेयर इन्दिरा कार्कीले बताइन् ।

महानगरपालिकामा हालसम्म ३१ जोडीले पहिलो सन्तान छोरी जन्माएको भन्दै नाम दर्ता गराइसकेका छन् । तर, पहिलोपटक वितरण गरिएको प्रोत्साहन भत्ता भने बुधबार १४ जनाले मात्र पाएका छन् । आगामी दिनमा सम्बन्धित वडा कार्यालयबाटै प्रोत्साहन रकम वितरण गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

प्रोत्साहन रकम प्राप्त गर्न महानगरले केही मापदण्ड तय गरेको छ । त्यसका लागि आमा २० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने, गर्भवती हुँदा सातपटक स्थानीय स्वास्थ्यचौकीमा र कम्तीमा चारपटक अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने, जन्मिएको ३५ दिनभित्र सन्तानको जन्मदर्ता गरिसकेको हुनुपर्ने र बच्चा स्वास्थ्यचौकी वा अस्पतालमा जन्मिएको हुनुपर्ने मापदण्ड महानगरले बनाएको छ ।