छिमेक मै कोरोनाको यस्तो ताण्डव - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

छिमेक मै कोरोनाको यस्तो ताण्डव



काठमाडौं- छिमेकी भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १२ हजार नाघेको छ भने मृत्यु हुनेको सख्या ४ सय २२ पुगेको छ।

वर्ल्डोमिटर्सको पछिल्ला तथ्याङ्क अनुसार बुधबारसम्म भारतमा १२ हजार ३ सय ७० जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। बुधबारमात्र भारतमा ८ सय ८३ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने २९ जनाको मृत्यु भएको थियो।

भारतमा लगातार दुई दिन दैनिक एक हजारभन्दा बढी कोरोनाका नयाँ बिरामी देखिएका थिए, तर बुधबार यो संख्या केही घटेको छ।

मंगलबार एकैदिन भारतमा १ हजार ३४ कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए। सोही दिन कोरोनाका कारण भारतमा ३५ जनाको मृत्यु भएको थियो। सोमबार १ हजार २ सय ४८ जना कोरोनाका नयाँ बिरामी देखिएका थिए भने २७ जनाको मृत्यु भएको थियो।

भारतमा १० लाखभन्दा बढी नेपाली रहँदै आएका छन्। तीमध्ये केही लाख नेपाली लकडाउन अघि र लकडाउनको समयमा नेपाल फर्केका छन्। अझै पनि ठूलो संख्यामा नेपालीहरु भारतमा रहेका छन्।

नेपालमा हालसम्म भेटिएका १६ जना कोरोना भाइरसका संक्रमित मध्ये धेरैको सम्बन्ध भारतसँग जोडिएको छ। केही भारतीयहरु लकडाउनका बेला पनि अवैध तरिकाले नेपाल प्रवेश गरेको र उनीहरुमा कोरोनाको संक्रमण भएको पाइएको छ। यसले नेपाललाई पनि खतरा बढाएको छ।