धारा ७६ (५)मा सांसदले स्वविवेक प्रयोग गर्न पाउने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

धारा ७६ (५)मा सांसदले स्वविवेक प्रयोग गर्न पाउने



काठमाडौं- पूर्वसभामुखहरूले संविधानको धारा ७६ (५) अन्तर्गत बन्ने सरकारलाई सांसदले आफ्नो स्वविवेकले मत दिन पाउने बताएका छन् । धारा ७६ (५)को सरकार निर्माण गर्दा दलीय ह्विप नलाग्ने भन्दै सांसदले आफ्नो स्वविवेक प्रयोग गर्न पाउने अधिकार रहेको बताइएको छ ।

मंगलबार सभामुख अग्नि सापकोटाले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पूर्वसभामुखहरूले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक भएको समेत बताएका हुन्। प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गर्ने उनीहरूको भनाइ छ। 

छलफल कार्यक्रममा बोल्दै पूर्वसभामुख रामचन्द्र पौडेलले संविधानको धारा ७६ (५)ले सांसदलाई स्वविवेक निर्णय गर्ने अधिकार दिएको बताए। प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक भएको उनको भनाइ थियो। “जनताको प्रतिनिधित्व गर्ने थलो बचाउने जिम्मेवारी न्यायमूर्तिको काँधमा आएको छ,” पूर्वसभामुख पौडेलले भने, “अब व्यवस्था र जनताको जीवनरक्षाका लागि सँगसँगै काम गर्नुपर्ने बेला आएको छ।”

कार्यक्रममा बोल्दै पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक भएको बताइन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्नेमा आशावादी रहेको बताउँदै घर्तीले भनिन्, “प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक हो। सर्वोच्च अदालतबाट यो छिटो पुनःस्थापना हुनेमा विश्वस्त छु।”

उनले प्रतिनिधि सभा नै जनताको आवाज राख्ने मुख्य ठाउँ भएको बताइन्। त्यसैले पनि सर्वोच्चले असंवैधानिक कदम सच्याउने उनको भनाइ थियो। 

पूर्वसभामुखहरूले कोभिड–१९ सँग जुध्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। भूकम्पपछि सबै एकजुट भएजस्तै अहिले कोभिड–१९ सँग जुध्न पनि सबै एकजुट भएर लाग्नुपर्ने उनीहरूको भनाइ थियो। 

सभामुख सापकोटाले बोलाएको छलफलमा दुई जना पूर्वसभामुख पौडेल र घर्ती उपस्थित भएका थिए। त्यस्तै, एक जना सभामुखले भर्चुअल प्रविधिबाट आफ्ना भनाइ राखेका थिए। अर्का पूर्वसभामुख सुवास नेम्वाङ भने छलफलमा गएनन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले ७ जेठ राति प्रतिनिधि सभा विघटन गरेर कात्तिक र मंसीरमा चुनाव घोषणा गरेकी छिन्। यसका विरुद्ध १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।