अब नेपालीले भारतको अनुमति लिन पर्दैन, बन्यो छाङरु जाने बाटो - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

अब नेपालीले भारतको अनुमति लिन पर्दैन, बन्यो छाङरु जाने बाटो



नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरु जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ।

गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौताअनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको हो।

कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो। याे खबर साेमबारकाे गाेरखापत्रमा लाेकन्द्र जाेशीले दार्चुलाबाट लेखेका हुन्।

चट्टानी भीर फुटाएर खुलाइएको ट्र्याकमा सफाइको कामसमेत सकिएको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाले जानकारी दिए।

यो बाटो खुलेसँगै व्यासवासीलाई नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सहज भएको छ। व्यासको छाङरु र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ।

व्यासको छाङ्रु र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ ।

व्यासी हरेक वर्ष ६ महिना व्यास र ६ महिना सदरमुकाम खलङ्गा बस्ने गर्छन्। खलङ्गाको गर्मी छल्न गाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः मङ्सिर पहिलो साता खलङ्गा झर्ने गर्छन्।

विगतमा नेपालतर्फ बाटो नहुँदा व्यासी भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गरेका थिए। यो वर्ष सीमा विवाद, लकडाउन र सीमा नाका बन्द भएकाले व्यासीलाई गाउँ फर्किन समस्या थियो।

घोरेटो बाटो निर्माण भएसँगै व्यास पुग्न नेपाल र भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता अन्त्य हुने व्यास गाउँपालिका–१ का स्थानीयवासी नगेन्द्र तिङ्करीले जानकारी दिए।

चट्टानी भूगोलले काममा केही ढिलाइ भए पनि स्थानीयवासीका लागि सहज रूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको तिङ्करीले बताए।