दिउसो छनक, मध्यरातमा दनक
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद भंग गर्दै चुनाव घोषणा गरेका छन् । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै खारेज गरे लगत्तै मध्यरातमा मन्त्रिपरिषद् बैठक बोलाएर चुनावको मिति घोषणा गरेका थिए ।
तर यसको छनक भने उनले दिउसो नै दिएका थिए । शुक्रबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा नै प्रधानमन्त्री ओलीले संसद् भंग गरेर चुनावमा जान सकिने स्पष्ट संकेत दिइसकेका थिए ।
प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिएर वा आफ्नो नेतृत्वमा सर्वदलीय सरकार बनाएर प्रतिनिधिसभालाई जोगाउन विपक्षी दलहरूलाई ओलीले आह्वान गरेका थिए ।
विकल्प पनि नदिने र आफूलाई समर्थन नगर्ने हो भने संसद् विघटनको जिम्मेवार स्वयम् विपक्षी दलहरु हुने पनि उनको भनाइ थियो । आफूले बनाउन नसक्ने हो भने आफूलाई समर्थन गर्न भन्दै उनले संसद विघटन गर्ने संकेत गरेका थिए ।
यसअघि प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चले खारेज गरिदिएको भन्दै त्यसतर्फ फेरि जानु नपरोस् भनेर प्रयासरत रहेको पनि बताएका थिए । त्यस्तै, भारत र अमेरिकामा महामारीका बीच पनि चुनाव भएको उदाहरण दिँदै सामाजिक दुरी पालना गरेर नेपालमा पनि निर्वाचन गराउन गराउन सकिने तर्क प्रस्तुत गरेका थिए ।
उनले भनेका थिए, ‘प्रतिनिधिसभा विघटन भनेपछि अस्ति नै थुतुनो पोलेको मान्छे म, त्यसैले आउनुस्, मलाई समर्थन गर्नुस् भनेर दलहरूलाई भन्न चाहन्छु । प्रतिनिधिसभालाई जोगाऔँ ।’