डा केसीको अनसन बिषयमा सरकारको छलफल सुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डा केसीको अनसन बिषयमा सरकारको छलफल सुरु



काठमाडौ‌ं- २५ दिनदेखि १५औँ पटक  चिकित्सा शिक्षा सुधारका लागि ७ बुँदे माग राखेर अामरण अनसनमा बसेका डा गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले छलफल सुरु गरेको छ। छलफल चिकित्सा शिक्षा विधेयक संशोधनमा केन्द्रित छ। डा केसीको माग र माथेमा कार्यदलको प्रतिवेदन विपरित संसदमा विधेयक लगेपछि डा केसी त्यसको विरोधमा अनसनमा बसेका हुन्।

उक्त विधेयकमा संशोधन गर्न र डा केसीको माग पुरा गर्न नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र नेपाल  मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटाबीच छलफल सुरु भएको हो। उनीहरुले सोमबारबाट छलफल सुरु गरेका छन्।

छलफलमा विधेयकमा स‌ंशोधन गर्न सकिने बुँदाहरुमा साझा धारणा बनेपछि म‌ंगलबार डा केसीकाे वार्ता टोलीसँग उक्त विषयमा कुराकानी हुनेछ। त्यसलगत्तै डा केसीसँग उक्त स‌ंशोधनका विषयमा कुराकानी हुनेछ।

डा केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि डा केसीका माग संवोधन गर्ने विषयमा सोमबार दिउँसो नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र महान्यायाधिवक्ता अग्नि खरेलबीच पनि छलफल भएको थियो। छलफलपछि परराष्ट्रमन्त्री ज्ञवाली युरोप भ्रमणमा गएका थिए।

उक्त छलफलपछि नै डा केसीको माग स‌म्वोधन गर्ने जिम्मा नेता नेम्वाङलाई दिइएको हो।