बैठकअघि नेताहरूसंग सघन छलफलमा प्रधानमन्त्री ओली
काठमाडौं- नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भनाभन भएपछि बुधबारको बैठकमा नआउने चेतावनी दिएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक अगाडी आफू निकट नेताहरूसंग छलफल गरेका छन् ।
मंगलबार बसेको बैठकले अर्को बैठक बुधबार दिउसो १ बजेका लागि तय गरेको थियो । आज दिउँसो पुनः बैठक बस्ने गरी मंगलबार स्थगित भएको भएको बैठकमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोप भएपछि ओलीले बुधवारको बैठकमा उपस्थित नहुने चेतावनी दिएका थिए ।
ओली उपस्थित नभए पनि आजको बैठक अघि बढाउने प्रचण्डपक्षको तयारी छ।
नेकपामा पछिल्लो समय चर्किएको शक्ति संघर्ष दुई अध्यक्षबीच बैठकमा बाहेक पानी बाराबारको अवस्थामा आइपुगेको छ ।
बुधबारको बैठकमा अब कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफूनिकट नेताहरुसँग छलफलमा जुटेका हुन्। केही नेतालाई बालुवाटार बोलाएर तथा केही नेतासँग टेलिफोनमै छलफल गरिरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
ओलीनिकट स्थायी कमिटी सदस्य एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने ओलीले ‘बैठकको आवश्यकता छैन’ भनेर नभनेको बताए।
“कार्यव्यस्तता छ, बुधबारको वैठकमा उपस्थित हुन सक्दिन भन्नुभएको हो,” उनले भने, “२४ घण्टा पार्टीका बैठक गरेर त भएन नि, प्रधानमन्त्रीका महत्वपूर्ण कामहरु हुन्छन्। कार्यव्यस्तता हुन्छ। पार्टीको बैठक भनेर महत्वपूर्ण कामहरुलाई रोक्ने कुरा पनि त भएन।”
नेम्वाङले भने
मंगलबारको बैठकमा पार्टीमा उत्पन्न गम्भीर समस्यालाई ध्यानमा राखेर अनौपचारिक सम्वाद अघि बढाउनेबारे छलफल भएको थियो। सचिवालयमा प्रस्तुत भएका दुवै अध्यक्षका प्रस्तावलाई पार्टी कमिटिकै बैठकबाट टुंगो लगाउने तयारीमा प्रचण्ड जुटेको उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए।
नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत साथ रहेकाले सचिवालयमा बहुमत पुग्ने आकलनमा रहेका प्रचण्ड ‘अब जे गर्छ बैठकले नै गर्छ’ भन्दै आएका छन् ।
मंगलबारको बैठकमा ओलीले प्रचण्डलाई अनुशासनको कार्वाही गर्नुपर्ने बताएका थिए।
सचिवालयका एक सदस्यका अनुसार त्यसपछि आक्रोशित बनेका दाहालले ओलीलाई ‘मेरो प्रस्तावमा छलफल हुँदैन, फिर्ता लिनुस् भनेर भन्ने तपाँई को हो ?’ भन्दै प्रतिप्रश्न गरेका थिए।
अध्यक्षद्वय ओली र दाहालबीचको विवाद लिखित रुपमै आरोप प्रत्यारोपको उच्चतम तहमा पुगेको छ। एकले अर्कोलाई पार्टी विभाजन गर्न खोजेको लिखित आरोप लगाएपछि परिस्थिति थप गम्भीर बनेको हो ।
बैठकको औचित्य नरहेको भन्दै ओलीले बैठकमा उपस्थित नहुने बताएको केही नेताले सार्वजनिक गरेका थिए।