कारबाहीमा परेका चार नेता अब छ महिना ढुक्क
काठमाडौं- नेकपा माओवादी केन्द्रको कारबाही गरेका नेताहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्री बनाउने भएका छन् । माओवादी पार्टीले कारबाही गरेपछि सांसद पद गुमाएका चार जना नेताले फेरी छ महिने मन्त्री पद पाउँदै छन् ।
सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । त्यसैमा टेकेर प्रधानमन्त्री ओलीले उनीहरूलाई छ महिने मन्त्री पद दिन लागेका हुन् ।
माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरूको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजेका लागि तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासन गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेमा सांसदबाट पदमुक्त हुने व्यवस्था छ ।
माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरूको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।