'तिब्बतलाई हामीले चीनको हो भनिदिनुपर्ने, चीनले भने नसोधी बाटो बनाउन अनुमति दिने ?' - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

‘तिब्बतलाई हामीले चीनको हो भनिदिनुपर्ने, चीनले भने नसोधी बाटो बनाउन अनुमति दिने ?’



काठमाडौं- चीनले नेपालको भूगोलमा भारतलाई बाटो बनाउन सहमति दिएको भन्दै नेपालको संसदमा आपत्ति व्यक्त भएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपालले तिब्बत चीनको हो भनेर बारम्बार भनिरहनुपर्ने अनि चीनले नेपाली भूगोलमा भारतलाई बाटो बनाउन सहमति दिने ? भन्दै प्रश्न उठेको हो ।

चीनले भारतले मिचेको कालापानीसहितको भूगोल नेपालको हो, नभन्ने हो भने हामी पनि तिब्बत चीनकै हो भनेर भनिरहन बाध्य हुनुनपर्ने सवाल सदनमा उठेको हो ।

जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले नेपालभन्दा ठूलो आकारको तिब्बतलाई हामीले चीनको हो भनेर भनिरहनुपर्ने, नभने उ रिसाउने तर नेपालको भूगोल नेपालकै हो भन्न चीनले किन नसक्ने भन्दै प्रश्न उठाएका हुन् ।

सरकारले हालै अध्यावधिक गरेको नेपालको नक्शालाई निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमाथिको छलफलमा सहभागि हुँदै सांसद महतले यो भूगोल र सीमाको विषय भएकाले चीनसँग पनि प्रश्न गर्नैपर्ने भएको बताएका हुन् ।

बैठकमा सांसद महतले भने, ‘अर्को कुरा मैलै भन्नैपर्ने विषय छ । छिमेकी देशलाई भन्नैपर्ने भो, हामीले । तिब्बत हामीभन्दा धेरै गुणा ठूलो छ, हाम्रो नेपालभन्दा । हामीले बारम्बार तिब्बत चीनको भूगोल हो भन्नुपर्ने । बारम्बार भन्नुपर्ने । नभने चीन रिसाउने । दुःख मान्ने । तर चीनले हाम्रो भूगोल इण्डियासँग बसेर बाटो बना, अर्को बना भन्न पाउने ? यो पनि मिल्ने विषय हो ?

चीनको विषय उठ्ने बित्तिकै सभामुख अग्नि सापकोटाले रुलिङ गर्दै विषयमा बोल्न ध्यानाकर्षण गराए पनि सांसद महतले भने, ‘यो सिमानाको कुरा हो । मैले भन्नैपर्छ । नत्र अन्याय हुन्छ । चीनले भन्नैपर्छ यो भूगोल नेपालको हो । भन्नैपर्छ । होइन भने हामी पनि बाध्य हुने छौं । हामीले पनि भन्नुछ ।’

त्यसअघि सरकारले नक्शा नयाँ ल्याएका सन्दर्भमा सांसद महतले बैठकमा भने, ‘नापीमा गएर पहिले प्रमाण ल्याउँछौं । अनि जग्गा आफ्नो भन्छौं । प्रमाण जुटेको छ । गौरबको कुरा हो । प्रमाण ल्याएर मात्र हुन्न । तिरो तिर, कर तिर, भोट हाल भनेर मात्र हुन्न । त्यहाँको जनता कसरी बसेको छ । कसरी खाएको छ ? रोजगारी के भइरहेको छ ? नूनतेल के भइरहेको भन्नेमा सरकारको ध्यान जाओस् ।’