क्षयरोग नियन्त्रणमा चुनौती,कैलालीमा वार्षिक ५० भन्दा बढीको मृत्यु - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

क्षयरोग नियन्त्रणमा चुनौती,कैलालीमा वार्षिक ५० भन्दा बढीको मृत्यु



   प्रदेश ७ मा ३ हजार ७१ क्षयरोगी

कैलाली । भारत विश्वमै बढी क्षयरोगी भएको मुलुक मानिन्छ । त्यही देशसँग खुला सीमा जोडिएकाले यसको नियन्त्रणमा थुप्रै चुनौती रहेको सरोकारवालाले बताएका छन् ।

‘खुला सीमामार्फत भारतसँगको आउजाउको सम्बन्धले क्षयरोग नियन्त्रणमा थुप्रै चुनौती छन्,’ क्षेत्रीय जनस्वास्थ्य कार्यालयका क्षय/कुष्ठरोग निरीक्षक मनोज ओझाले भने, ‘भारत विश्वमै सबैभन्दा बढी क्षयरोगी भएको देश हो ।’
नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य पनि भारत नै हो । खुला सीमा र कागजी झन्झट व्यहोर्नु नपर्ने भएकाले अधिकांश नेपाली रोजगारीका लागि त्यता जान्छन् । ‘भारतबाट फर्कने नेपाली कामदार क्षयरोग संक्रमित भएर फर्किने भएकाले यो रोगको नियन्त्रण नेपालकै लागि चुनौती बनेको हो,’ निरीक्षक ओझाले भने ।

कैलाली जिल्लामा मात्र क्षयरोगबाट वर्षमा ५० जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । प्रत्येक वर्ष १ हजार २ सयसम्म नयाँ बिरामी पत्ता लाग्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका क्षय तथा कुष्ठरोग निरीक्षक दीपेन्द्र जोशीले बताए । उनका अनुसार वर्षमा ५० जनाको क्षयरोगबाट मृत्यु हुने गरेको छ । आर्थिक वर्ष ०७४/०७५ को पहिलो चौमासिकमा ३ सय ९८ जना क्षयरोगका नयाँ बिरामी पत्ता लागेको उनले बताए ।

हालै पत्ता लागेका बिरामीमा महिला १ सय २६ र पुरुष २ सय ७२ जना छन् । बालबालिका ३५ जना छन् । चार महिनाको अवधिमा २२ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आव ०७३/०७४ मा १ हजार २ सय ६ जना बिरामी पत्ता लागेका थिए ।

निरीक्षक जोशीले जनसंख्याको उच्चचाप, बसाइँसराइ, खुला सिमाना, गरिबी र जनचेतनाको अभावले क्षयरोगबाट पीडित हुनेको संख्या बढ्दै गएको बताए । ‘यो श्वासप्रश्वासबाट सर्ने सरुवा रोग हो,’ उनले भने, ‘एउटा बिरामीले एकपटक हाच्छियुँ गर्दा १० जनामा रोगका कीटाणु सर्न सक्छन् ।’ नियमित औषधि सेवन गर्न छाडेका बिरामीका कारणले पनि क्षयरोग न्यूनीकरण हुन नसकेको उनको भनाइ छ ।

‘क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहेको छ,’ क्षेत्रीय कार्यालयका क्षय/कुष्ठरोग निरीक्षक ओझाले भने, ‘हाल विश्वव्यापी क्षयरोग अन्त्यको रणनीतिअनुरूप नेपालले पनि सन् २०५० मा १० लाख जनसंख्यामा १ जनाभन्दा कम गर्ने लक्ष्य राखेको छ ।’ विश्वमा क्षयरोगीको संक्रमण दर भारतपछि चीनमा बढी छ ।

चीन र भारत दुवैसँग सीमा जोडिएको प्रदेश ७ मा क्षयरोगको अन्त्यको प्रमुख चुनौतीका रूपमा गरिबी, अशिक्षा, बसाइँसराइ, जनचेतना र खुला सिमाना नै भएको ओझाले बताए । क्षेत्रीय जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार प्रदेशभर ३ हजार ७१ क्षयरोगी छन् । जसमध्ये सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा भेटिएका हुन् ।

कैलालीमा १ हजार २ सय १ र कञ्चनपुरमा ८ सय ७१ जना क्षयरोगी भेटिएका छन् । केही एचआईभी संक्रमितमा समेत क्षयरोगको संक्रमण देखिएको छ । अछाममा १४, बैतडीमा २, बाजुरामा १, डोटीमा १०, कञ्चनपुरमा ५ र कैलालीमा १२ जना एचआईभी संक्रमितमा यो रोग देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । कान्तिपुर बाट